प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

रकम लेनदेन गरी नवजात शिशुलाई बेपत्ता पारेपछि...

२०८० भाद्र ६, बुधबार १०:०२ बजे

हेटौंडा – रकम लेनदेन गरी नवजात शिशुलाई बेपत्ता पारेको अभियोगमा छ जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–९ स्थित ग्रिनक्रस अस्पतालमा सकुशल जन्मिएको नवजात शिशुलाई रकम लेनदेन गरी बेपत्ता पारेको घटनामा संलग्न रहेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका–२ घर भई दिपेश मेडिकल हलका संचालक ६८ वर्षीय डा. तपेश्वर लाल कर्ण, विराटनगर महानगरपालिका–९ बस्ने ग्रिनक्रस अस्पतालमा कार्यरत ३३ वर्षीया सुधा राजवंशी, कटहरी गाउँपालिका–२ बस्ने ४६ वर्षीया दिलमाया राजवंशी तथा ३० वर्षीय सूर्य नारायण राजवंशी, सिरहा कल्याणपुर नगरपालिका–१२ बस्ने ३८ वर्षीया निर्मला यादव र भोजपुर हतुवागढी गाउँपालिका–४ बस्ने २७ वर्षीय गोविन्द राई रहेका छन् ।

ग्रिनक्रस अस्पतालमा जन्मिएको नवजात शिशुलाई गत असार १४ गते रकम लेनदेन गरी बेपत्ता पारिएको घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरूको संलग्नता रहेको खुल्न आएपछि डा. तपेश्वर लाल कर्ण र गोविन्द राईलाई शुक्रबार तथा अन्य ४ जनालाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले निजहरुको साथबाट नवजात शिशुलाई समेत फेला पारी सकुशल उद्धार गरेको थियो ।

उनीहरू उपर म्याद थप अनुमति लिई प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।