काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज बुधबार पनि सुनुवाइ हुने भएको छ । जिल्ला अदालत काठमाडौँमा दायर बलात्कार मुद्दाको अन्तिम फैसलाका लागि आज सुनुवाइ हुने भएको हो ।
आइतबार अन्तिम सुनुवाइ शुरू भए पनि बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको मुद्दामा आज पनि सुनुवाइ हुन लागेको हो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सुरु भएको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा राखिएको थियो ।
यसअघि गत मङ्सिर २४ गते काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पदमराज पाण्डेयको इजलासमा पहिलो नम्बरमै पेसी तोकिए पनि सन्दीपका वकिलले निवेदन दिएर सुनुवाइ स्थगन गराएका थिए ।
नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसमा जिल्ला अदालतल काठमाडौंले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर, उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
सन्दीप दोषी ठहर भए उनी कम्तीमा १० वर्ष जेलमा बस्नु पर्नेछ । मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा २ अनुसार १८ वर्ष नपुगेकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई बलात्कार मानिने र दोषीलाई १० देखि १२ वर्षसम्म जेल सजाय हुने उल्लेख छ ।