बनेपा – काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका-१०, हल्देछापमा मृत अवस्थामा फेला परेकी महिलालाई सुनका लागि हत्या गरिएको रहस्य खुलेको छ । गत मङ्सिर ३० गते मृत फेला परेकी स्थानीय ६५ वर्षीय कान्छी दमाईको कानमा लगाएको रिङको लोभमा हत्या गरिएको रहस्य बाहिर आएको हो ।
कान्छीको हत्या आरोपमा स्थानीय १७ वर्षीय एक किशोरलाई पक्राउ गरेपछि कान्छीलाई उनले लगाएको सुनका लागि हत्या गरिएको रहस्य पत्ता लागेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । प्रहरीले ती किशोरलाई गत शुक्रबार घरैबाट पक्राउ गरेको हो । मसिर ३० गते घरबाट करिब चार सय मिटर उत्तरतर्फ छिमेकीको बारीको कान्लोमा मृत अवस्थामा फेला परेकी कान्छीलाई स्थानीयले चितुवाको आक्रमणबाट मृत्यु भएको हुन सक्ने बताइँदै आएको थियो ।
“चितुवाको आक्रमणबाट मृत्यु भएको हुन सक्ने आकलन गरे पनि शव परीक्षण रिपोर्टले जनावरको आक्रमणबाट मृत्यु नभई ुब्लन्ट फोर्स इन्जुरी भनेर देखाएको छ” जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले भने । घटनापछि कान्छीले लगाएको सुन बिक्रीका लागि ल्याउने मानिसमाथि शङ्काका आधारमा ती किशोरलाई अनुसन्धानका लागि पक्राउ गरेका हौं,” प्रनाउ श्रेष्ठले भने ।
ती किशोरले घटना भएको दिन कान्छी र आफूसँगै विवाहको भोजमा रहेको र आफू घर फर्केर आउँदा बाटोको छेउमा गीत गाएर बसेकी कान्छीलाई ढुङ्गाले हानेर करिब ५० मिटर जति घिसारेर ल्याएको र उनले लगाएको सुन फुकालेर गोठमा लुकाएको प्रारम्भिक बयान दिएका छन्” श्रेष्ठले थपे । ती किशोरले पुस ३ गते जिल्लाको पाँचखाल नगरपालिकास्थित तामाघाट बजारमा सुन बिक्रीका लागि ल्याएको र सुन पसलेले बिलबिनाको सुन नलिने बताएपछि उनी त्यहाँबाट फर्केका थिए । पक्राउपछि ती किशोरलाई कर्तव्य ज्यान मुद्दामा सात दिनको म्याद गरी थप अनुसन्धान अघि बढाइएको छ ।
प्रहरीले ती किशोरले कान्छीले लगाएको सुन गोठमा राखेको प्रारम्भिक बयान दिए पनि प्रहरीले सुन बरामद गर्न सकेको छैन । निज किशोरले मान्छे बसोबास नगर्ने घरमा चोरी गरी त्यस घरमा भएका ओढ्ने, ओछ्याउने कपडा लगेर मान्छे जान नसक्ने भिरमा आफैँले बनाएको बकरमा सुत्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।गोरखापत्र दैनिकबाट