प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

जनकपुर बोल्ट्सले पहिलो एनपिएलको उपाधि जित्यो , कसले के अवार्ड पाए ?

२०८१ पौष ६, शनिबार १९:१७ बजे

काठमाडौं – जनकपुर बोल्ट्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को उपाधि जितेको छ । कीर्तिपुरको टियु मैदानमा सम्पन्न फाइनल खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) २०२४ को उपाधि आफ्नो नाममा लेखाएको छ।

शनिवार भएको यो रोमाञ्चक खेलमा जनकपुरले १ करोड १० लाख रुपैयाँ नगद पुरस्कार र ट्रफी जित्न सफल भयो भने उपविजेता सुदूरपश्चिमले ५१ लाख रुपैयाँमा चित्त बुझायो।

मिलन्थाको विस्फोटक ब्याटिङ
जनकपुरले सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य १९.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। जनकपुरका ओपनर लाहिरु मिलन्थाले ८७ रनको उत्कृष्ट योगदान गरे। उनले ४९ बलमा ९ चौका र ४ छक्काको सहायताले रन बनाएका थिए।

मिलन्थाले आफ्नो अर्धशतक ३१ बलमा पूरा गरेका थिए। १२औं ओभरमा कप्तान दीपेन्द्रसिंह ऐरीले उनको क्याच छोडेका थिए, जसले खेलको नतिजा परिवर्तन गर्न महत्वपूर्ण भूमिका खेलेको थियो।

सुदूरपश्चिमको बलियो सुरुवात
सुदूरपश्चिमले टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८४ रनको चुनौतीपूर्ण योगफल तयार गरेको थियो। ओपनर आसिफ अली जेबले सर्वाधिक ६९ रन बनाए भने विनोद भण्डारीले ४१ रन जोडे।

सुदूरपश्चिमले सुरुवाती ११७ रनको साझेदारीपछि विकेट गुमाउँदै मात्र ६७ रन जोड्न सकेको थियो।

जनकपुरका बलर किशोर महतो र मोहम्मद मोहसिनले समान ३–३ विकेट लिए। जेम्स निशम र ललितले १–१ विकेट हात पारे। यो एनपिएलको पहिलो संस्करण हो। यसअघि लिग चरणमा सुदूरपश्चिमले जनकपुरलाई दुईपटक पराजित गरेको थियो। तर, फाइनलमा जनकपुरले उत्कृष्ट प्रदर्शन गर्दै इतिहास रच्यो।

तेस्रो स्थान प्राप्त गर्ने कर्णाली याक्सले २५ लाख रुपैयाँ र चौथो स्थानको चितवन राइनोजले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे।

दीपेन्द्रलाई कार, विपिन उदीयमान खेलाडी

एनपिएलमा सर्वोत्कृष्ट हुँदै सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले कार पाएका छन् । उत्कृष्ट प्रदर्शनको सहयोगमा टोलीलाई फाइनलसम्म पुर्याउन सफल दीपेन्द्रले प्रतियोगिताको सर्वोत्कृष्ट नेपाली खेलाडी भएका हुन् । उनले ओमोडाको ६२ लाख रुपैयाँ मुल्यको‌ कार प्राप्त गरेका हुन्।

प्लेयर अफ दि टुर्नामेण्ट सुदूरपश्चिम रोएल्सका सेफ अली जैबले हात पारे । उनले ५ लाख रुपैयाँ प्राव्त गरेका छन् । एनपीएलको सर्वोत्कृष्ट बलर ललित राजवंशी घोषित भए । उनले मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन् ।

त्यस्तै, कर्णाली याक्सका बिपिन प्रसाद शर्माले इमर्जिङ प्लेयरको उपाधि हात पारेका छन् । उनले ५० हजार नगद र एक लाख बराबरको छात्रवृत्ति पाएका छन् ।इनर्जेटिक प्लेयर अफ द टुर्नामेण्ट जनकपुरका जिमी नीशम घोषित भए । उनले २ लाख रूपैयाँ प्राप्त गरेका छन् ।अत्यधिक चौका अवार्ड लाहिरु मिलान्थाले पाएका छन् भने फेयर प्ले अवार्ड लुम्बिनी लायन्स टिमले प्राप्त गरेको छ ।