प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

शिक्षामा फड्को मार्दै मकवानपुरगढी : ‘सामूहिक प्रतिबद्धता’ को उपज, शारदाको ऐतिहासिक सफलता

२०८२ असार २०, शुक्रबार १८:२८ बजे

मकवानपुर । शिक्षा क्षेत्रमा पछिल्लो समय उल्लेखनीय सुधार देखाउँदै आएको मकवानपुरगढी गाउँपालिकाले यसपटक ऐतिहासिक सफलता हासिल गरेको छ।

गाउँपालिकाअन्तर्गत वडा नं. ५ मा अवस्थित शारदा माध्यमिक विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा शतप्रतिशत नतिजा ल्याउँदै सामुदायिक विद्यालयको क्षेत्रमा नयाँ उदाहरण स्थापित गरेको छ ।

गत वर्ष २०८० मा गाउँपालिकाको एसईई नतिजा जम्मा १२ प्रतिशतमा सीमित रहँदा व्यापक आलोचना खेपेको पालिकाले यो वर्ष ४४ प्रतिशतले समग्र नतिजा सुधार गर्न सफल भएको हो ।

विशेषगरी शारदा माविको १०० प्रतिशत नतिजाले सम्पूर्ण गाउँपालिका, अभिभावक, शिक्षक र विद्यार्थीमा नयाँ ऊर्जा भरेको छ।

गाउँपालिकाले पछिल्लो वर्षदेखि शिक्षा क्षेत्रमा गुणस्तर वृद्धिको लक्ष्यसहित नवीनतम रणनीति र सुधार कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।

गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानका अनुसार “गुणस्तर, समय र सिकाइ” लाई केन्द्रमा राखेर विद्यालय सुधारको अभियान अघि बढाइएको छ।

उनका अनुसार गाउँपालिकालाई शैक्षिक ‘हब’ का रूपमा विकास गर्ने दीर्घकालीन योजना पनि अघि सारिएको छ।

नयाँ शैक्षिक सत्रदेखि पालिकाले सम्पूर्ण शिक्षक तथा विद्यार्थी लक्षित सुधार कार्यक्रम ल्याएको छ।

कक्षा ८ र १० का लागि न्यूनतम ६ महिनाको फोकस क्लास सञ्चालन गर्दै विद्यार्थीलाई निःशुल्क तयारी गराउने नीति ल्याइएको छ।

स्रोत सीमित भए पनि पालिकाले सबै वडामा कम्तीमा २५ प्रतिशत बजेट शिक्षा क्षेत्रमा लगानी गर्न अनिवार्य गराएको छ।

मोबाइलमा अत्यधिक निर्भरता हटाउँदै पाठ्यपुस्तकमा आधारित अध्ययन प्रणाली विकास गर्न विशेष गृहकार्य दिइएको छ।

चालू आर्थिक वर्ष २०८२/८३ का लागि शिक्षा पूर्वाधार विकासमा १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ।

सो बजेटबाट कक्षा कोठा, पुस्तकालय, ट्याब्लेट, इन्टरनेट जस्ता सुविधा विस्तार गरिनेछ। अध्यक्ष लामा भन्छन्, “शतप्रतिशत नतिजा ल्याउनु मात्र हाम्रो अन्तिम लक्ष्य होइन, यसलाई आधार मानेर गुणस्तरीय शिक्षाको यात्रामा अघि बढ्नुपर्छ। शिक्षामा सुधारको अभियानलाई निरन्तरता दिन हामी सबैको सहकार्य अपरिहार्य छ।”

शारदा माविको ऐतिहासिक सफलतामा निवर्तमान अध्यक्ष बिदुर हुमागाईले विद्यालय प्रशासन, शिक्षक, विद्यार्थी र अभिभावक सबैको मेहनतलाई मुक्तकण्ठले प्रशंसा गरेका छन्।

उनले भने, “शतप्रतिशत नतिजा ल्याउनु गर्वको कुरा हो तर यो साख कायम राख्न र गुणस्तर सुधार गर्दै लैजानु अझ चुनौतीपूर्ण छ।”

उनले शिक्षामा देखिएको यो सुधारलाई ‘चुनौतिलाई अवसरमा बदल्ने’ सुरुवातको रुपमा व्याख्या गर्दै अबको बाटो व्यवहारिक शिक्षा, प्रविधिमैत्री सिकाइ र सम्पूर्ण सिकाइ अनुभवमा केन्द्रित हुनुपर्ने बताए।

वडा नं. ५ का अध्यक्ष दिपेश दाहालले विद्यालयको सफलतालाई ‘समूहगत प्रतिबद्धता र अनुशासन’ को परिणाम भनेका छन्।

उनले भने, “शिक्षकहरूले घरघरमै पुगेर विद्यार्थीको अवस्था बुझे, अभिभावकसँग नियमित समन्वय गरे, मोबाइलको प्रयोग नियन्त्रण गर्दै सिकाइको बानी विकास गरियो।” उनका अनुसार विद्यालयले दैनिक कक्षा निगरानी, फोकस क्लास, नियमित होम भिजिट जस्ता अभ्यासबाट सिकाइमा गहिरो प्रभाव पारेको छ।

“अब सामुदायिक विद्यालय कमजोर छन् भन्ने सोच बदल्ने समय आएको छ,” दाहालले भने, “शारदाले सम्भव छ भन्ने प्रमाणित गरिसकेको छ।

साथै उनले यो नतिजा ‘सेटिङको नतिजा होइन, ३६५ दिनको मिहिनेत’ हो भनेका छन ।

विद्यालयका प्रधानाध्यापक इन्द्र कार्कीका अनुसार विद्यालयमै राखेर छात्रछात्रालाई निरन्तर ४ महिना कोच क्याम्प अन्तर्गत बिहान ४ बजेदेखि बेलुका १० बजेसम्म अध्ययन गराइएको थियो।

शिक्षकहरूले विद्यार्थीको मनोभावनालाई बुझ्दै व्यक्तिगत समस्यासमेत समाधान गर्दै सिकाउने शैली परिवर्तन गरेका थिए।

“हामीले मल्टिमिडिया प्रयोग गरेर, शैक्षिक सामग्रीको सहायताले सिकायौं। दिनभर सिकाइ, राति परीक्षा र बिहान नतिजा दिने अभ्यास गर्‍यौं।  निर्माणात्मक मूल्याङ्कनलाई निरन्तरता दियौं,” कार्कीले भने।

शारदा माध्यमिक विद्यालयको शतप्रतिशत नतिजा मात्र एक विद्यालयको सफलता होइन, यसले मकवानपुरगढी गाउँपालिकाको शिक्षामा फड्को मारेको संकेत दिएको छ । 

शिक्षामा आएको यो सुधार, नीतिगत प्रतिबद्धता, शिक्षक–विद्यार्थीको निरन्तर मिहिनेत र व्यवहारिक सुधार कार्यक्रमको समग्र परिणाम हो ।

अबको चुनौती भनेको यो लय कायम राख्दै शिक्षाको गुणस्तरलाई थप बलियो बनाउनु हो ।

शारदाले जुन साख निर्माण गरेको छ, त्यसको निरन्तरतासँगै अन्य विद्यालयमा पनि यस्तो उदाहरण फैलिन सके, मकवानपुरगढी शिक्षा क्षेत्रमा साँच्चिकै ‘हब’ बन्ने जानकारहरुले बताएका छन ।