हेटौंडा – बिष्फोटक पदार्थ राखेर फिरौती रकम माग गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं बिजुलीबजारस्थित इन्द्रेणी कम्प्लेक्सका सञ्चालकलाई फोन मार्फत फिरौती रकम माग गरेको अभियोगमा ललितपुर गोदावरी नगरपालिका–१० का ३३ वर्षीय महेश के।सी।खत्रीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार फिरौती रकम नदिएमा घर र व्यापारिक भवन इन्द्रेणी कम्प्लेक्स समेत बिष्फोट गर्ने धम्की दिएका थिए । फिरौती रकम नपाएपछि धम्की दिने कार्यमा संलग्न खत्रीले अन्य व्यक्तिहरु समेत मिलाएर समूह बनाएर इन्द्रेणी कम्प्लेक्सको तल्लो बेसमेन्ट पार्किङ्गमा बिष्फोटक पदार्थ राखेको प्रहरीले जनाएको छ ।
प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टोलीसँग समन्वय गरेर उक्त बिष्फोटक पदार्थलाई डिस्पोज गरेको बताईएको छ । प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको नेपाल प्रहरीको टोली उनलाई गोदाबारीबाट पक्राउ गरेको हो । घटनाको सम्बन्धमा ‘विष्फोटक पदार्थ ऐन’ कसूर शीर्षकमा मुद्दा दर्ता गरीएको प्रहरीले जनाएको छ ।