प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

जुम्लामा पहिरोले चरिरहेका भेडा पुरिए, १३ भेडा र एउटा घोडा मरेको भेटियो

२०८२ असार १७, मंगलबार २०:३४ बजे

कर्णाली। तातोपानी गाउँपालिका ८ जुम्लाको राक्सेस्थित पाटनमा पहिरो जाँदा चरिरहेका दर्जनौँ भेडा पुरिएका छन्।

सोमवार दिउँसो ४:०० बजेको समयमा पाटनमा चरिरहेका भेडालाई पहिरोले पुरेको हो। वर्षाका कारण आएको पहिरोले पुरिएका मध्ये १३ भेडा र एक घोडा मरेको भेटिएको ताम्ती टोप्लाका प्रहरी इन्चार्ज प्रहरी सहायक हवल्दार गणेशबहादुर बलायरले जानकारी दिए।

उनका अनुसार कुहिरोले ढाकिएकोले कति भेडा तथा घोडा मरेको भन्ने यकिन हुन सकेको छैन। कृषकहरूले भने आआफ्ना भेडा जम्मा गरिरहेका छन्। घटनास्थल करिब ८ घण्टा पैदल यात्रा हिड्नुपर्दछ।
   
इन्चार्ज बलायरको नेतृत्वमा स्थानीयसहित सुरक्षा टोली घटनास्थलमा पुगिसकेको छ। तातोपानी गाउँपालिका वडा नं ७ जुम्लाका स्थानीय भेडापालक कृषक टेकराज रावतले आफूसहित आठ जना कृषकका भेडाहरू चरिरहेको अवस्थामा माथिबाट ठूलो पहिरो खसेर पुरेको बताए।

उक्त गाउँपालिका वडा नं ७ का वडाध्यक्ष तिलक रावतले पहिरोले धेरै भेडा मरेको भन्ने खबर आए पनि क्षतिको यकिन विवरण आउन समय लाग्ने बताए।