काठमाडौं – सरकारले भोली मंगलबार सार्वजनिक बिदा दिएको छ । शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सरकारले भोली एक दिन सार्वजनिक बिदा दिएको हो ।
गृह मन्त्रालयले जारी गरेको सूचनामा कार्तिक १ गते देशैभर सार्वजनिक बिदा दिइएको उल्लेख छ । साथै सो दिन राष्ट्रिय झन्डा आधा झुकाउने पनि मन्त्रालयले उल्लेख गरेको छ ।
जोशीको आइतबार बिहान किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा निधन भएको थियो । विगत लामो समय देखि प्रोष्टेड तथा मुटुको समस्याबाट गुज्रिरहेका उनलाई कमजोरी देखिएका कारण असोज ७ गते ईमर्जेन्सीमा ल्याई भर्ना गरिएको थियो ।
अस्पतलाका अनुसार उनको रगत परीक्षण गर्दा डेङ्गु संक्रमण देखिएको र छातीमा निमोनियाको संक्रमण साथै मुटुको चाल सम्बन्धी समस्या देखिएको थियो ।
सँस्कृतिविद जोशी तीनपटकसम्म मदन पुरस्कार पाउने एक मात्र व्यक्तित्व हुन् । उनको पार्थिव शरीर हिजो नै किस्ट अस्पताललाई हस्तान्तरण गरिएको छ ।
उनकै इच्छा अनुसार अध्ययन तथा अनुसन्धान प्रयोजनको लागि उनको शरीर नजलाई अस्पताललाई प्रदान गरिएको हो । उनले नै आफु सय वर्ष भन्दा बढी कसरि बाँचे भनेर आफ्नो मृत्युपछि यस बारे अध्ययन होस् भनेर अस्पताललाई शव दिने निर्णय गरेका थिए ।