हेटौंडा – बिरामी बोक्ने एम्बुलेन्सको प्रयोग गरेर लागुऔषध गाँजा ओसारपसार गरेको पाइएको छ । प्रहरीले विराटनगर महानगरपालिका–१८ लाभाघाटबाट को.१ च ४६१९ को एम्बुलेन्समा ठूलो परिमाणमा गाँजा ओसारपसार गरेको फेला पारेको हो ।
मंगलबार राति साढे १० बजे इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरी टोलिले चेक जाँचको क्रममा उक्त एम्बुलेन्सको डिकीमा लुकाई छिपाई ल्याएको २१.५ किलोग्राम लागुऔषध गाँजा र नेपाली रुपैया ४० हजार बरामद गरेको हो । लागऔषध गाँजा बरामद भएपछि राजन अधिकारी फाउण्डेसन धरानद्धारा संचालित उक्त नम्वरको एम्वुलेन्स र चालक धरान–११ का ३८ बर्षीय गंगा सरकारलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
सोही स्थानमा रहेको भारतीय नम्बर प्लेट बीआर ३८ ए एफ ०३३६ नम्वरको मोटरसाईकललाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी विशेष सुचनाका आधारमा इलाका प्रहरी कार्यालय बुधनगर र अस्थायी प्रहरी पोष्ट भेडियारीबाट खटिएका प्रहरी टोलिले बिराटनगर-१८ स्थित खेतको परालमा लुकाई छिपाई राखेको साढे १६।५ किलोग्राम गाँजा समेत बरामद गरेको छ ।
लागुऔषध गाँजा सहित पक्राउ परेको एम्वुलेन्स तथा चालकको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको छ ।