प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

कैलाश गाउँपालिकाद्वारा सात जना चेलीलाई नगदसहित सम्मान, विवाहपूर्व शिक्षालाई प्रोत्साहन गर्ने

२०८२ असार १०, मंगलबार १८:१८ बजे

हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिकाले विवाहपूर्व शिक्षालाई प्रोत्साहन गर्ने उद्देश्यसहित सात जना चेलीलाई २०/२० हजार नगदसहित सम्मान गरेको छ।

मंगलबार सम्पन्न गाउँपालिकाको १६औं गाउँसभामार्फत ‘चेली प्रोत्साहन कार्यक्रम अन्तर्गत कैलाश–९ की सानुमाया स्याङतान र राधिका तितुङ, कैलाश–१० की शर्मिला मोक्तान, सविना मोक्तान र एलिना मोक्तान, कैलाश–५ की कमला श्रेष्ठ, र कैलाश–६ की पार्वती सुवेदीलाई सम्मानित गरिएको हो।

उनीहरूलाई गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले २० हजार नगद र सम्मानपत्र प्रदान गरेका थिए।

गाउँपालिका अध्यक्ष मुक्तानले भने, “चेलीहरूले विवाह गर्नु अगाडि कम्तीमा १०+२ पास गर्नुपर्छ र २० वर्षको उमेर पूरा हुनुपर्छ भन्ने सामाजिक सन्देश दिन यो कार्यक्रम ल्याइएको हो।”

यस्तै, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आमूल श्रेष्ठले भने, “वालविवाह अन्त्य र विद्यालय जान नछाडून् भन्ने उद्देश्यले कार्यक्रमले ठुलो सन्देश दिन सक्नेछ।

यो सामाजिक परिवर्तनको अभियान हो।” यस कार्यक्रमबाट वालविवाहजस्ता समस्याहरू न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ। गाउँपालिकाले भविष्यमा यो कार्यक्रमलाई नियमित, प्रभावकारी र बिस्तारित बनाउने योजना समेत अघि सारेको छ।

आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ५ लाख रुपैयाँको बजेट चेली प्रोत्साहन कार्यक्रममा विनियोजन गरिएको जानकारी दिए।