उनीहरूको संलग्नता नरहेको भन्दै छाडिए पनि हिरासतमै रहका अर्का व्यक्तिसहित ५ जनाविरुद्ध भने मुद्दा दर्ता भएको छ ।
जसमा मोहम्मद मुन्ना अन्सारी, चालक सिद्धिकी, पर्सा घर भएका ४४ वर्षीय प्रभात साह कानु, पर्सा नै घर भएका ४६ वर्षीय रामाकान्त साह गोढ र प्रहरी वृत्त कालीमाटीको हिरासतमा रहेका नुवाकोटका २५ वर्षीय राजु मिजार छन् ।
जसमध्ये प्रभात साह कानु र रामाकान्त साह गोढ फरार छन् । उनीहरूलाई फरार प्रतिवादी बनाएर मुद्दा चलाइएको परिसरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए ।
अनुसन्धानको क्रममा संगठित रूपमा योजना बनाएर लागुऔषधको ओसारपसार र कारोबार गरेको भन्दै उनीहरूविरुद्ध लागुऔषध निवारण ऐन, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा पनि मुद्दा चलाइएको छ ।
ठूलो मात्रामा लागुऔषधसहित बरामद भएका उनीहरूले करोडसम्मका कारोबार गरेको भेटिएको परिसर ललितपुरले बताएको छ ।
राजु मिजारको ई–सेवा आईडीबाट मात्रै १७ लाख ६३ हजार ६३९ रुपैयाँ डेबिट र १७ लाख ६३ हजार ८३४ रुपैयाँ क्रेडिट कारोबार भएको भेटिएको छ ।
आईएमई तथा एनआईसी एसिया बैंकको खातामार्फत मिजारले नै यही लागुऔषध कारोबारमा पक्राउ परेका अर्का व्यक्ति रामाकान्त साह गोढलाई ३८ लाख १६ हजार जम्मा गरेको पनि भेटिएको छ । अनुसन्धान अधिकारीसँगै मिजारले विगत एक वर्षदेखि रमेश देउला नाम गरेका व्यक्तिसँग मिलेर तराईका जिल्लाबाट लागुऔषध ट्रामाडोल ल्याउँदै बेच्ने गरेको स्वीकार गरेका छन् ।
अहिले प्रहरी वृत्त कालीमाटीको हिरासतमा रहेका मिजारविरुद्ध यसअघि पनि मुद्दा चलेको थियो । लागुऔषधकै कसुरमा ललितपुर जिल्ला अदालतले उनलाई ९ असार २०७९ मा २ महिना कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । अहिले पनि लागुऔषधकै कसुरमा कालीमाटी वृत्तको हिरासतमा छन् भने ललितपुरमा अर्को मुद्दा दायर भएको छ ।
अन्य व्यापार, व्यवसाय तथा रोजगार केही नभएका देउलासँगको लाखौंको कारोबार लागुऔषधकै रकम भएको प्रहरीले निष्कर्ष निकालेको छ ।
राजुसँगै उनकी श्रीमती मिना, सुवर्ण मल्ल, सुनिता दमाई, सुवास घलेलायतका व्यक्तिले रामाकान्त साह गोढको खातामा कुनै प्रयोजन नखुलाई ७ सेप्टेम्बर २०२२ देखि २५ अप्रिल २०२५ सम्म २ करोड ७६ लाख ६८ हजार ३१४ रुपैयाँ जम्मा गरेको भेटिएको छ ।
भट्टे डाँडामा बरामद भएको लागुऔषध पनि काठमाडौं ल्याएपछि मिजारले नै सप्लाइ गर्ने योजना रहेको एक अनुसन्धान अधिकारी बताउँछन् ।
अर्का प्रतिवादी प्रभात साह कानुको पनि जग्गा–जमिन फेला परेको छ । पर्साकै साविक सुर्जाहा–९ मा कित्ता नम्बर २८२ मा ४९०.९७ वर्गमिटर, वीरगञ्जमा ६७८ वर्गमिटर जग्गा लागुऔषध कारोबार सुरु गरे पश्चात ३१ साउन २०८० मा खरिद गरेको भेटिएको छ ।
प्रभात साह कानुनको एनएमबी बैंकको खातामा १५ नोभेम्बर २००८ देखि २० अप्रिल २०२५ सम्म ३० लाख ३९ हजार ४६६ रुपैयाँ क्रेडिट र ३१ लाख ३५ हजार ७८५ रुपैयाँ डेबिट कारोबार भेटिएको छ ।
उनकै ग्लोबल आईएमई बैंकको खातामा ९ जनवरी २०२३ देखि २३ अप्रिल २०२५ सम्म ६६ लाख ५० हजार ३४५ डेबिट र ६७ लाख ८८ हजार ५३९ रुपैयाँ क्रेडिट कारोबार भएको भेटिएको छ ।
सोही बैंक मर्ज भएपछि बैंक अफ काठमाण्डुमा ७१ लाख ९० हजार ४१५ रुपैयाँ क्रेडिट र ७१ लाख ३७ हजार ६९५ रुपैयाँ डेबिट कारोबार भएको भेटिएको छ ।
यसरी संगठित रूपमा लागुऔषधको कारोबार गर्नकै लागि उनीहरूले ती भारतीय नागरिकको नाममा एम्बुलेन्स समेत खरिद गरेको पाइएको प्रहरीको भनाइ छ ।
लागुऔषध कारोबारमा लागेपछि उनीहरूको आर्थिक हैसियत एकाएक फरक भएको एसएसपी अधिकारी बताउँछन् ।
‘लाखौंदेखि करोडसम्मको कारोबार भएको भेटिएको छ । कसैले जग्गा जमीन समेत जोडेको देखिन्छ । अरू पेसा व्यवसाय केही छैन ।
जब लागुऔषधको धन्दामा लागे त्यसपछि यी सबै सम्पत्ति जोडिएको देखिन्छ,’ एसएसपी अधिकारीले भने ।-अनलाइनखबर