प्रहर खबर
 २०८३ जेष्ठ २१, बिहीवार    

कुटपिट गर्ने वडाध्यक्षसहित तीन जनाविरुद्ध मुद्दा दर्ता

२०७९ आश्विन १५, शनिबार ०२:४७ बजे

बाजुरा – बाजुराको त्रिवेणी नगरपालिका–७ मा रहेको नाटेश्वरी मन्दिरमा प्रवेश गरेको भन्दै दलितमाथि कुटपिट गर्ने वडाध्यक्षसहित तीन जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

बिहीबार वडाध्यक्षसहित तीन जनाविरुद्ध पीडित टेकेन्द्रसिंह सुनारले जिल्ला प्रहरी कार्यालय बाजुरामा जातीय भेदभाव तथा छुवाछूतसम्बन्धी मुद्दा दर्ता गराएका छन् ।

बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यबहादुर थापाका अनुसार घटस्थापनाका अवसरमा नाटेश्वरी मन्दिरमा नवरात्रको पूजा गर्न बसिरहेका बेला वडाध्यक्ष जुद्धबहादुर अयडीको समूहले टेकेन्द्रसिंह सुनारलाई निर्घात कुटपिट गरेका थिए ।

बूढीगङ्गा नगरपालिका–५ घर भई हाल कञ्चनपुर बस्दै आएका सुनारमाथि त्रिवेणी नगरपालिका–७ का वडाध्यक्ष अयडीको समूहले दलितले यहाँ बस्न मिल्दैन भन्दै कुटपिट गरेको बताइन्छ । सो समूहले आफूबाट नगद ६० हजार रुपियाँसमेत खोसेको सुनारको दाबी छ ।

सुनारको आँखा, ढाड र छातीमा चोट लागेको बताइन्छ । वडाध्यक्ष अयडीसहित त्रिवेणी नगरपालिका–७ कै रङ्गलाल पाध्याय र विनोद अयडी फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।