प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मुस्ताङमा हिमपात

२०८० मंसिर १८, सोमबार १५:०१ बजे

काठमाडौं – मुस्ताङमा सोमबार बिहानैदेखि हिमपात भएको छ । हिमपात भएपछि चिसो अत्यधिक बढ्दा जनजीवन प्रभावित भएको छ । मुस्ताङका सबै क्षेत्रमा बिहानैदेखि हिमपात भएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडानम्बर ४ का वडाध्यक्ष कर्म घ्यचो गुरुङले जानकारी दिए ।

उनका अनुसार जोमसोम, कागबेनी, मुक्तिनाथ, माथिल्लो मुस्ताङको लोमान्थाङलगायतका उच्च हिमाली भेगमा बिहानैदेखि हिमपात भएको छ । हिमपातसँगै अत्याधिक चिसो बढेको उनले बताए । माथिल्लो मुस्ताङको लोमान्थाङमा झण्डै २ फिटसम्म हिउँ जमेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले जानकारी दिए ।

हिमपात भएपछि मुस्ताङका स्याउ उत्पादक कृषकहरु भने खुसी भएका छन् । हिमपातले स्याउको फूल खेल्न र दाना लाग्न सहयोग पुग्नुका साथै स्याउ उत्पादनमा समेत वृद्धि हुने भएकाले स्थानीय कृषकहरु खुसी भएका हुन् ।