हेटौंडा – बागमती प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक आज बसेको छ । सोमबार दिउँसो १ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले अध्यक्षता गरेको बैठकमा ५ वटा अध्यादेश टेबल भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
पहिलो बैठकले प्रदेशसभा नियमावली २०७४ ९पहिलो संशोधनसमेत० लाई अंगिकार गरी बैठक सञ्चालन गर्ने प्रस्ताव बहुमतले पारित गरेको छ। बैठकले सभामुख र उपसभामुख चयनको मिति तोक्नुका साथै पाँच वटा अध्यादेश टेल भएको छ ।
बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रदेश निजामती सेवाको गठन,सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गरेको बनेको अध्यादेश–२०७९ र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश–२०७९ टेबल गरेका थिए।
संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठले प्रदेश स्वास्थ्य सेवा ऐन–२०७५ लाई संशोधन गर्न बनेको अध्यादेश टेबल गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागाईले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश–२०७९ पेस गरेका थिए। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश–२०७९ टेबल गरेका थिए।
प्रदेशसभाको दोस्रो बैठक पुस २९ गते शुक्रबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।