प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

काठमाडौँको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह विजयी

२०७९ जेठ ११, बुधबार ०६:०२ बजे

काठमाडौं – काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह(बालेन) विजयी भएका छन् ।

उनी गन्न बाँकी भन्दा बढी मतान्तर बनाएसँगै विजयी भएका हुन् । अब काठमाडौं महानगरपालिकामा १९ हजार ३२३ मत गन्न बाँकी छ ।

साहको एमालेबाट मेयर पदका उम्मेदवार केशव स्थापितसँग २१ हजार १२१ र सत्ता गठबन्धनको साझा उम्मेदवार नेपाली काँग्रेसकी सिर्जना श्रेष्ठसँग २० हजार ३७६ को मतान्तर छ ।

यस्तै उप मेयरमा भने एमालेकी सुनिता डंगोल भारी मतान्तरका साथ विजयी भएकी छन् ।हालसम्म काठमाडौं महानगरपालिकामा १ लाख ७१ हजार ८०२ मत गणना भइसकेको छ ।

बालेन शाहको मेयरमा जित सुनिश्चित भएपछि फेसबुकमा लेख्दै आफ्ना मतदाता, समर्थक र निर्वाचनमा सामेल भएका सबैलाई धन्यवाद दिएका छन्। 

उनले विश्वासमा कसैको जित वा हार नहुने बताएका छन्। यस्तै आफूहरूले विजय जुलुस निकालेर अरूलाई पराजित भन्ने संकेत नगर्न पनि अनुरोध गरेका छन्। 

‘ठाउँ-ठाउँबाट र्‍यालीका लागि काठमाडौं आउने कुराहरू एकदमै धेरै सुनिरहेका छौं। हाम्रो अनुरोध के हुन्छ भने तपाईंहरू कोही पनि र्‍यालीका लागि काठमाडौं आउने दु:ख गर्नु पर्दैन। यो अभियान सबैको हो। यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिए हामी खुसी हुनेछौं,’ उनले भनेका छन्।