हेटौंडा – बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजारको बजेट ल्याएको छ ।
शुक्रबार आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले प्रस्तुत गरेको बजेटसंगै नयाँ/पुराना गरी ११ वटा नारासंगै आएको छ । प्रदेशले पनि संघीय सरकारको सिको गर्यो भन्दा फरक नपर्ला । संयीय सरकारले आफ्नो बजेटमा १९ वटा नारा समावेश गरेको थियो
बजेट चालुआर्थिक बर्षको भन्दा ८ अर्ब २३ करोड १ लाख २२ हजार कम छ । त्यसैले अधिकांश नारा कार्यान्वयनका लागि अनुमानित बजेट समेत तोकिएको छैन, केहीमा छुट्याईएको छ, तर न्यून छ ।
प्रस्तुत बजेट चालुआर्थिक बर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि चालूखर्चतर्फ ७ अर्ब ६७ करोड बढाईएको छ भने पुजिगततर्फ ६ अर्ब ५ करोडले घटाईएको छ ।
कुल विनियोजनमध्ये प्रदेशको प्रशासनिक क्षेत्रमा मात्रै बजेटको ४२.५८ प्रतिशत खर्च गर्ने योजना बनाएको छ । त्यस्तै विकास निर्माणको कार्यमा ५६.६२ प्रतिशत खर्च गर्ने योजना बनाउँदा ऋण तथा साँवा भुक्तानीका लागि ०.८ प्रतिशत बजेट विनियोजन गरेको छ ।
विकास बजेट घटाउने र प्रशासनिक खर्च बढाउने प्रदेशको बजेट छ । नारा सुन्दा आर्कषक सुनिएपनि पर्याप्त वजेट नभएको कारण कार्यक्रमको औचित्य पुष्टि हुने देखिदैन । हेर्नुस् यस्तो छ नाराहरुः–
१. “एक वडा एक पशु स्वास्थ्य क्लिनक”ः– यस नाराले पशु स्वास्थ्य तथा क्लिनक सेवालाई सहज बनाउनका लागि स्थानीय तहसंग समन्वयमा सो कार्यक्रमलाई विस्तार गर्दै लैजाने योजना प्रदेश सरकारको छ । तर, यस कार्यक्रमका लागि अनुमानित बजेट तोकिएको छैन ।
२ “एक वन समूह, एक उद्योग”ः– यही नाराबाट वन क्षेत्रलाई प्रदेशको महत्वपूर्ण आर्थिक क्षेत्रको रूपमा स्थापित गर्ने, वन, जैविक विविधता तथा जलाधार क्षेत्रको दिगो व्यवस्थापनबाट वातावरणीय सन्तुलन एवम् दिगो विकास हासिल गर्न काष्ठजन्य,गैरकाष्ठजन्य तथा पर्यापर्यटकीय उद्योगको विकास र जैविक विविधताको संरक्षण गरी रोजगारी तथा आय आर्जनका क्रियाकलापहरू मार्फत जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन गर्न सहयोग पु–याउने लक्षित कार्यक्रमहरू सञ्चालन गर्ने सोच बनाएको छ ।
३.“पारिस्थितिकीय प्रणालीको पुनर्स्थापना, स्वस्थ्य वातावरण हाम्रो चाहना”ः– यो नारालाई साकार पार्न नाङ्गा डाँडा, पाखा, पर्ति चौर, नदी उकास जमिन, सुख्खा भूभाग जस्ता क्षेत्रहरूमा बाँस लगायतका अन्य बहुमूल्य प्रजातिको सघन वृक्षारोपण कार्यक्रम सञ्चालन गरिने छ । साथै, भत्किएका वन्य पारिस्थितिकीय प्रणालीको पुनरोत्थानका लागि क्षतिग्रस्त वन क्षेत्रको पुनर्सुधार क्रियाकलापहरू सञ्चालन गर्न लागि रु. १५ करोड २३ लाख रकम छुट्टयाएको छ ।
४.“स्वच्छ पानी खोलामा, फोहोर आफ्नै झोलामा”ः– बागमती प्रदेशभित्रका शहरी क्षेत्र भएर बग्ने विभिन्न खोलाहरू अत्यन्त प्रदूषित बन्दै गएकोले सो नाराका साथ काठमाडौँ उपत्यका लगायत प्रदेशभित्रका अन्य प्रदूषित खोलाहरूमा नमूनाको रूपमा व्यापक सरसफाई कार्यक्रम अभियान सञ्चालन गर्ने प्रदेश सरकारको योजना छ । तर, उक्त कार्यक्रम गर्न खर्च कति लाग्ने हो, यसमा पनि बजेट खुलाएको छैन ।
५.“स्वच्छ शहरका लागि सामुदायिक पहल”ः– यस नारासहित स्थानीय तथा संघीय सरकार र स्थानीय संघ÷संस्थाहरूको समन्वय र सहकार्यमा काठमाडौं उपत्यका, भरतपुर महानगरपालिका, हेटौंडा उपमहानगरपालिका लगायतका प्रमुख शहरी क्षेत्रमा हरियाली प्रबर्द्धन, फोहोरमैला व्यवस्थापन तथा बाल, युवा एवम् ज्येष्ठ नागरिकमैत्री उद्यान निर्माण र व्यवस्थापन गरिने छ । गणेशमान सिंह शहरी वन तथा स्वच्छ वातावरण कार्यक्रम सञ्चालनमका लागि रकम छुट्याएको बताईएको छ । तर, छुट्याएको बजेट उल्लेख छैन ।
६.“बागमती प्रदेशः स्वस्थ्य प्रदेश”ः– भन्ने नाराका साथ मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत नागरिकको स्वास्थ्य प्रवर्द्धनका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिनेछ । क्यान्सर, मुटुरोग, मधुमेह, दिर्घ श्वासप्रश्वास जस्ता नसर्ने रोगको उपचार महँगो रहेको र बर्षेनी ठूलो संख्यामा नागरिकले ज्यान गुमाउनु परेकोले त्यस्ता रोगहरूको समयमै पहिचान गरी रोकथाम र निराकरण गर्न प्रदेश भित्रका अस्पताल, आयुर्वेद स्वास्थ्य केन्द्र र स्थानीय तहका स्वास्थ्य संस्था मार्फत दुई हजार दुई सय पचास रूपैया बराबरको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाएको बजेट वत्तब्यमा छ । बजेट कति लाग्छ ? उल्लेख छैन ।
७.“एक माध्यमिक विद्यालय, एक नर्स”ः– किशोर किशोरीको स्वास्थ्य सेवा प्रवर्द्धन तथा परामर्श र प्राथमिक उपचार सेवा प्रवाह गर्ने उद्देश्यकासाथ सञ्चालित यो कार्यक्रमलाई आर्थिक बर्ष २०८०÷८१ मा प्रदेश भित्रका दशजोड दुई अध्यापन गराउने सबै विद्यालयहरूमा विस्तार गरिएको छ । सो कार्यक्रमको लागि रु. ३० करोड ७४ लाख विनियोजन गरिएको उल्लेख छ ।
८.“व्यवस्थित शहरी सडक पूर्वाधारः आधुनिक विकासको आधार”ः– भन्ने नारालाई साकार पार्न शहरी तथा शहरोंन्मुख क्षेत्रहरूमा व्यवस्थित शहरी सडक निर्माण गर्दा अनिवार्य रूपमा सडक बत्ती, सौन्दर्यकरण,हरियाली, व्यवस्थित फुटपाथ, साइकल लेन तथा बगैचा निर्माण गर्नुपर्ने कानूनी व्यवस्था गरिने बताईएको छ । यसमा पनि बजेट उल्लेख छैन ।
९.“नियमित मर्मत सम्भारः दिगो सडकको आधार”ः– सडक तथा सडक संरचनाहरूको आयु बढाउन सो नारा अनुरूप प्रादेशिक सडकहरूको नियमित, पटके, आवधिक तथा आकस्मिक मर्मत सम्भारको लागि रु. ३५ करोड १५ लाख विनियोजन गरिएको छ ।
१०.“एक घर एक धारा, पूर्ण सरसफाई हाम्रो अभिभारा”ः– यस नारामा बागमती प्रदेश सरकार प्रदेशवासीलाई स्वच्छ खानेपानी र गुणस्तरीय सरसफाई सेवा उपलब्ध गराउन प्रतिवद्ध रहेको दाबी छ । सो प्रतिवद्धता कार्यन्वयनलाई मूर्त रूप यस अभियानलाई निरन्तरता दिने र आगामी आर्थिक वर्ष खानेपानी तथा सरसफाई सम्बन्धी नीति र आवश्यक कानून तर्जुमा गर्ने सरकारको योजना छ ।
११.“नदी व्यवस्थापन सहित जमीन उकास”ः– जल उत्पन्न विपद्को जोखिममा रहेका क्षेत्रहरूमा प्राथमिकताका आधारमा जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने र सो नाराको लागि गुरू योजनामा समावेश भएका नदीहरूमा तटबन्धन निर्माण लगायत अन्य आधुनि प्रविधिको प्रयोग मार्फत विपद् जोखिम न्यूनीकरण गर्ने सरकारको योजना छ । जसअन्तर्गत मेलम्ची ईन्द्रावती एकीकृत संरक्षण कार्यक्रमको लागि रु. एक करोड बजेट व्यवस्था गरेको वत्तव्यमा उल्लेख छ ।