काठमाडौँ – छैटौँ पटक साफ महिला च्याम्पियनसिप २०२४ को फाइनलमा स्थान बनाएको नेपाल यसपटक पनि उपविजेतामै सिमिति बनेको छ ।
नेपाली महिला फुटबलको इतिहासमै घरेलु मैदान दशरथ रङ्गशालामा १५ हजार चारसय संख्यामा दर्शकको सर्मथन पाएको नेपाल बुधबार भएको फाइनलमा बङ्गलादेशसँग २-१ गोलले पराजित भयो ।
उपाधि रक्षा गरेको बङ्गलादेशको जितमा मोनिका चक्मा र रितु पोर्ना चक्माले गोल गर्नुभयो । नेपालका लागि अमिशा कार्कीको गोल सान्त्वना बन्यो ।
बङ्गलादेशले लगातार दोस्रो पटक फाइनलमा नेपाललाई हराउँदै उपाधि रक्षा गरेको हो । सन् २०२२ को अघिल्लो संस्करणमा पनि नेपाल बङ्गलादेशसँग घरेलु मैदानमै फाइनलमा ३-१ गोलले पराजित भएको थियो ।
सन् २०१० देखि सुरु भएको साफ महिला च्याम्पियनसिपले सातौँ संस्करण पूरा गर्दा नेपाल चौथो संस्करणबाहेक सबैमा फाइनल पुगेको छ । नेपालले यसअघि फाइनलमा सन् २०१०, २०१२, २०१४ र २०१९ भारतसँग हार खेपेको थियो ।
समग्रमा १२औँ पटक अन्तर्राष्ट्रिय महिला फुटबलको फाइनलमा पुगेको नेपाल हरेक संस्करणमा स्तब्ध बन्दै आएको छ । यसपटक तनावपूर्ण सेमिफाइनलमा पाँच पटकको च्याम्पियन भारतलाई टाइब्रेकरमा ४-२ गोलले पन्छाएपछि नेपालले उपाधि जित्ने ठूलो आशा राखेको थियो । तर नेपालको हर प्रयासमा बङ्गलादेश पुन: बाधक बन्यो ।
रोमाञ्चक खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । पहिलो हाफमा दुवै टोलीको एक एक वटा शसक्त प्रहार पोलमा लागेर फर्किएको थियो ।
त्यसपछि दोस्रो हाफको सुरुवातमै बङ्गलादेशले अग्रता बनायो । ५२औँ मिनेटमा मोनिका चक्माले गोल गर्दै पाहुना टोलीको उत्साह जगाउनुभयो । बङ्गलादेशले डिबक्सभित्र नेपालको रक्षापंक्तिको कमजोरीमा गोल गरेको थियो ।
बङ्गलादेशको अग्रतापछि आक्रामक बनेको नेपालले चारमिनेट लगत्यै बराबरी गोल फर्कायो । नेपालका लागि अमिशा कार्कीले ५६औँ मिनेटमा बराबरी गोल फर्काउनुभयो । उहाँले प्रिति राईले दिएको पासमा उत्कृष्ट गोल गर्दै नेपालको खुशी फर्काउनुभएको थियो ।
तर, ८१औँ मिनेटमा बङ्गलादेशकी रितु चक्माले कर्नर एरियाबाट दोस्रो बार च्याप्दै हानेको प्रहार सोझै गोलमा परिणत भयो । चक्माको शसक्त प्रहारलाई नेपालकी गोलरक्षक एन्जिला तुम्बापो सुब्बाले बचाउन नसकेपछि नेपाल फेरि उपविजेतामा चित्त बुझाउन बाध्य बन्यो ।
यसअघि राम्रो खेल्दै गोल समेत गरेकी अमिशा कार्कीलाई ७५औँ मिनेटमा बाहिर निकाल्दै अनिता बस्नेतलाई मैदान छिराएपछि नेपाल थप कमजोर बनेको थियो ।
भारतसँगको खेलमा रातो कार्ड पाएकी नेपालकी रोजाईको स्ट्राइकर रेखा पौडेलको अभाव नेपाललाई फाइनलमा खड्किएको थियो । खेलभर एक मात्र स्ट्राईकर सावित्रा भण्डारी (साम्बा) को भरमा भिडेको नेपालले दोस्रो हाफमा जितको रणनिति तयार गर्न सकेन ।