हेटौंडा – मानवसेवा आश्रमको १० बर्ष पुरा भई ११ औँ बर्ष प्रवेशको सन्दर्भमा आयोजित साताव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
मंगलबार हेटौंडाको बुद्धचोकमा आयोजित कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन् । मानवसेवा आश्रमले बागमती प्रदेश स्वास्थ्य मन्त्रालय र नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको सहकार्यमा कार्यक्रम गरीएको मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।
मानवसेवा आश्रमको सप्ताहव्यापी कार्यक्रम रक्तदान कार्यक्रमबाट शुरु भई बार्षिकोत्सव कार्यक्रममा अन्त्य हुनेछ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भोली (बुधबार) भाद्र ८ गते मानवसेवा आश्रममा वृक्षारोपण कार्यक्रम गरिने अधिकारीले बताए । भाद्र ९ गते बिहान ७ बजे मानवसेवा आश्रमको मुख्य कार्यालय रहेको धापटोल सरसफाई कार्यक्रम र दिउँसो ३ बजे तीज विशेष कार्यक्रम तय गरिएको उनले बताए ।
अध्यक्ष अधिकारीका अनुसार हालसम्म आश्रमले करिब ७ हजार ५०० जना विभिन्न उमेर समूहका सडकमा आश्रित मानवहरुको उद्धार गरिसकेको छ । आश्रममा हाल देशका १९ जिल्लाका २३ वटा सेवा केन्द्रहरुमा करिब १ हजार ५०० व्यक्तिहरु आश्रित रहेको उनले बताए ।