काठमाडौं – लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले पदबाट राजिनामा दिएकी छन् । राज्यमन्त्री वलीले मुख्यमन्त्री कुलप्रसाद केसी समक्ष राजीनामा बुझाएकी हुन् ।
राज्यमन्त्री वलीले गएको जेठ ३१ गते दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनको श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोप लागेपछि प्रदेश सरकारले छानवीन समिति गठन गरेर घटनाको अध्ययन गरिरहेको छ ।
लुम्विनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा गठन भएको छानवीन समितिले केही दिनअघि दाङ गएर घटनाको विषयमा छानवीन गरेर फर्केको थियो । छानवीन समितिले प्रतिवेदन दिने तयारी गर्दैगर्दा वलीले राजिनामा दिएकी हुन् । मुख्यमन्त्री कुलप्रसाद केसीले वलीको १२ असारमा गते राजीनामा दिएको र राजीनामा स्वीकृत भएको जानकारी सदनलाई गराएका छन् ।