हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडा लगायत स्थानमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ पर्व सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नं.१ स्थित राप्ती नदी किनारमा छठ घाट निर्माण गरिएको थियो ।
चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान राप्ती नदी किनारमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पन गर्दै छठ पर्व सम्पन्न गरिएको हो ।
हेटौंडा उपमहानगरपालिकाको सहयोगमा संयुक्त मधेसी सेवा समाज नेपालको छट पुजा समारोह समितिले छठ घाट निर्माण तथा ब्यवस्थापन गरेको हो । राप्ती तटमा व्रतालुसंगै अवलोकन गर्नेहरुको समेत ठुलो घुँइचो लागको थियो ।
त्यस्तै काठमाडौं उपत्यका र तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरिको जलाशयमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य अर्पन गर्दै छठ पर्व सम्पन्न गरेका छन् ।
सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभुति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ ।
पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलासयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ ।