प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

२८ वर्षीया महिलामाथि बोक्सीको आरोपमा निर्घात कुटपिट

२०८१ पौष १०, बुधबार १८:५८ बजे

काठमाडौं – कैलालीको भजनी नगरपालिका-१, गौनैयाकी २८ वर्षीया हसिना चौधरीमाथि बोक्सीको आरोप लगाउँदै गाउँकै व्यक्तिहरूले पुस १ र ४ गते निर्घात कुटपिट गरेका छन्। कुटपिटबाट गम्भीर घाइते भएकी हसिनाको अहिले धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ।

घटनाका मुख्य योजनाकार गाउँका 'गुरुवा' मनोज चौधरी रहेको हसिनाले बताएकी छन्। मनोजले बोक्सीको आरोप लगाएपछि भलमान्सा लालबहादुर चौधरीको निर्देशनमा उनीमाथि कुटपिट भएको हो। पुस १ गते मनोजलाई गुरुवा आएको भन्दै गाउँलेबाट एक हजार रुपैयाँ संकलन गरिएको थियो। हसिनाले पनि माइतीबाट एक हजार रुपैयाँ झिकेर बुझाएकी थिइन्।

त्यही राति करिब ८ बजे घरमै बच्चा स्याहार्दै गर्दा रामलाल चौधरी, करन चौधरी, र जयराम चौधरी उनको घरमा आएर 'तँ बोक्सी होस्' भन्दै उनलाई घरबाट बाहिर निकालेर कुटपिट गर्न थाले। जयरामका छोरा रमेशले प्रतिवाद गरेपछि उनीहरू फर्केका थिए।

पुस ४ गते, कुटपिटको घटना पुनः दोहोरियो। जयराम, रामलाल, करन, रूपा चौधरीसहित पाँच महिला र ६ पुरुषको समूह हसिनाको घरमा आएर उनलाई घरबाट बाहिर निकाले। समूहले उनलाई जगल्टा लछार्दै गुरुवा मनोजको घर पुर्‍यायो। गुरुवाको घरमा उनलाई परालमा सुताएर लट्ठी र लात्ताले कुटपिट गरियो।

घटनाको विवरण अनुसार, उनलाई बोक्सी हुँ भनेर कबुल गर्न दबाब दिइएको थियो। तर हसिनाले बोक्सी नभएको बताउँदै प्रतिवाद गरिन्। त्यसपछि फरुवाले गर्धनमा आक्रमण गर्ने प्रयास गरिएका बेला उनका श्रीमान् चुन्नीलाल समयमै आइपुगे। उनीहरूबीचको झगडापछि हसिनालाई अस्पताल पुर्‍याइएको थियो।

घटनाबारे हसिनाले प्रहरीमा उजुरी दिएको छ। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको बताएको छ। यस घटनाले समाजमा विद्यमान अन्धविश्वास र हिंसाको गम्भीर अवस्था उजागर गरेको छ।