प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बोलेरो ठक्करबाट शिक्षक खत्री र लेखापाल अधिकारीको मृत्यु

२०८० मंसिर २४, आईतबार ०८:५४ बजे

हेटौंडा – बोलेरो गाडीले मोटरसाइकललाई ठक्कर दिँदा चितवनको माडीमा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक माडी नगरपालिका–१ निवासी सूर्य अधिकारी र मोटरसाइकल पछाडि सवार सुर्खेतको सिन्ता गाउँपालिका–३ आग्रीगाउँ बेगबहादुर खत्री रहेका छन् ।

माडी नगरपालिका–१ बरुवास्थित चिताई खोलाको पुलमा लु२च २५०८ नम्बरको बालेरोले बागमती प्रदेश ०६००१ प ४०९३ नम्बरको मोटरसाइकलालाई शनिबार साँझ ठक्कर दिएको हो ।

बेलेरोको ठक्करबाट गम्भीर घाइते भएका खत्रीको बगौडा अस्पताल र अधिकारीको भरतपुरमा उपचारका क्रममा आज आइतबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाइकल चालक अधिकारी सोमेश्वर माध्यमिक विद्यालयका लेखापाल र खत्री शिक्षक हुन् । दुर्घटनामा अर्का शिक्षक भवानीप्रसाद पौडेल घाइते छन्। तीनै जना माडीको सोमेश्वर माध्यमिक विद्यालयमा कार्यरत थिए।

दुर्घटनामा घाइते स्याङ्जा घर भएका पौडेलको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय माडीका प्रमुख दीपक रिजालले जानकारी दिए। ठक्कर दिने बोलेरो र चालकलाई नियन्त्रणमा लिएको उनले बताए।