हेटौंडा – यही जेठ ७ गतेदेखि १३ गतेसम्म हुने दोस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आयोजक बागमती प्रदेश खेलकुद विकास परिषद्ले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी दिएको हो ।
प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीका अनुसार दोस्रो संस्करणमा प्रतियोगितामा ५ खेल थप गरेर १३ खेल समावेश गरिएको छ । पहिलो संस्करणमा ८ वटा खेल मात्रै समावेश थियो । १३ खेलमा महिला/पुरुष गरी प्रदेशका १३ जिल्लाबाट २ हजार ५ सय २ जना खेलाडीहरुले २ सय १९ स्वर्ण २१९ रजत र ३५६ कास्य गरी कुल ७९४ पदकका लागि प्रतिस्पर्धा गर्ने उनले बताए ।
सार्वजनिक खेल तालिका अनुसार प्रतियोगिताको ९ खेल मकवानपुर, दुई खेल काठमाडौं, चितवन र ललितपुरमा एक/एक खेल हुनेछ । प्रतियोगिता अन्तर्गत पुरुष फुटबल र एथ्लेटिक्स् हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुनेछ भने महिला फुटबल गौरीटार रंगशालामा हुनेछ । हेटौंडा–४ स्थित हुप्रचौरमा भलिबल, रग्वी, कराँते, तेक्वान्दो, आई.टि.टिफ. तेक्वान्दोको खेल हुनेछ ।
त्यस्तै बक्सिङ्ग महिला/पुरुष हेटौंडा–४ स्थित कर्भड हलमा हुनेछ भने व्याटमिन्टन महिला/पुरुष हेटौंडा–११ थानाभ¥याङ्गस्थित कर्भड हलमा हुनेछ । जुडो काठमाडौं, उसु त्रिपुरेश्वर, क्रिकेट चितवन, पौडी सादोबाटो ललितपुरमा हुने तय भएको भएको सदस्य सचिव भण्डारीले जानकारी दिए । महिला फुटबल बाहेक अन्य खेलको महिला पुरुष दुबैको खेल एकै स्थानमा हुने उनले बताए ।
प्रतियोगिताको उद्घाटन हेटौंडा ५ स्थित पिप्ले क्याम्पा रंगशालामा जेठ ७ गते हुनेछ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले प्रदेश खेलकुदको उद्घाटन गर्ने कार्य तालिका रहेको छ। पहिलो संस्करणमा मकवानपुरमा उद्घाटन गरेर काभ्रेमा समापन गरेको आयोजकले दोस्रो संस्करणमा जेष्ठ १३ गते पिप्लेक्याम्पा रंगशालामै गर्नेछ ।
प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीले क्रमशः ५ हजार, ४ हजार र ३ हजार रुपैयाँसहित प्रमाणपत्र, शिल्ड तथा मेडल प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चालनमा ९ करोड ४२ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।
प्रतियोगितालाई भव्य, व्यवस्थित र पारदर्शी बनाउनका लागि मुल आयोजक समिति, उपसमिति र प्राविधिक समिति गठन गरिएको सदस्य सचिव भण्डारीले जानकारी दिए । साथै चौर व्यवस्थापनसंगै प्रतियोगिताको तयारी समेत तिब्रगतिमा भइरहेको उनले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले खेल र खेलाडीको विकासका लागि आवश्यक सहयोग गर्न देश सरकार प्रतिवद्ध रहेको बताईन् । पहिलो संस्करणका तुलनमा दोस्रो संस्करणमा खेल संख्या थप गरिएको बताउँदै मन्त्री मोक्तानले आगामी संस्करणहरु प्रतियोगिता थप व्यवस्थित गरिने पनि बताइन् । उनले प्रदेश सरकारले खेलकुदलाई विशेष प्राथमिकतामा समेत राखेको बताएकी छिन्।
कुन खेल कहाँ हुँदैछ ?
