प्रहर खबर
 २०८१ जेठ ४, शुक्रबार    

हेटौंडामा ठुलो परिमाणमा म्याद सकिएको प्रतिबन्धित औषध र अबैध कपडा बरामद, सापकोटा पक्राउ

२०८० श्रावण १९, शुक्रबार ०२:१४ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१५ बाट ठुलो परिमाणमा म्याद सकिएको प्रतिबन्धित औषध र अबैध कपडा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल नेपाल, १४ नम्बर गण हेडक्वाटर मकवानपुरबाट खटिएको टोलीले बिहीबार बिहान पूर्वपश्चिम राजमार्ग अन्तर्गत रातोमाटेस्थितबाट भन्सार छलेर ल्याइएका १५ लाख ७७ हजार रुपैयाँ बराबरको कपडा र औषधिसहित एउटा ट्रक नियन्त्रणमा लिएको हो ।

भन्सार छलेर ल्याइएको पाइन्ट, टिसर्ट, कुर्ता लगायतका कपडा र प्रतिबन्धित औषधिसहित मालबाहक कन्टेनर (ट्रक)सहित ट्रकका चालक काभ्रे मण्डन देउपुर नगरपालिका–९, मण्डन बस्ने वर्ष ४८ का ज्ञानेन्द्र कुमार सापकोटालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण हेडक्वार्टर मकवानपुरका गणपति प्रहरी उपरीक्षक अनिल कार्कीले जानकारी दिए ।

उनका अनुसार वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र. ०१९००६ ख २६५६ नम्बरको ट्रकलाई रोकेर चेकजाँच गर्ने क्रममा लुकाई छिपाई ल्याइएका उक्त समान बरामद गरिएको छ । विशेष सूचनाको आधारमा भन्सार छलेर ल्याइएका १ लाख २० हजार रुपैयाँ बराबरको पाइन्ट ३० पिस, ३ लाख रुपैयाँ बराबरको टिसर्ट २०० पिस, १० लाख २६ हजार रुपैयाँको कुर्ता ५१३ पिस गरी कुल १४ लाख ४६ हजार रुपैयाँ रहेको कार्कीले बताए ।

१ लाख ३१ हजार रुपैयाँ बराबरको उपभोग मिति समाप्त भएका प्रतिबन्धित औषधि ट्रामडोल ५० एमजीको ७६० ट्यावलेट र महारिच मल्टी भिटामिन १५० पिस बरामद गरेको पनि उनले जानकारी दिए । अबैध कपडाको राजस्व तिराईने र नियन्त्रणमा लिएको ट्रक, चालकसहित बरामद कानुन अनुसार कारबाही प्रक्रिया अगाडि बढाइने उनले बताए ।