प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

लापसे गरी सवारी चलाउने तीन जना चालक मकवानपुर प्रहरीको नियन्त्रणमा

२०८१ पौष १४, आईतबार २१:१९ बजे

हेटौंडा – मकवानपुरको हेटौंडामा लागूपदार्थ सेवन(लापसे) गरी सवारी साधन चलाएका तीन जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मिति २०८१ पुस १२ गते पूर्व–पश्चिम लोकमार्गस्थित थानाभर्‍याङ क्षेत्रमा ट्राफिक प्रहरीले लागूऔषध परीक्षणको क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले जनस्वास्थ्य कार्यालय मकवानपुर र सीएमसी चुरेहिल अस्पताल हेटौंडाका प्राविधिकहरूको सहकार्यमा सवारी चालकहरूको ड्रग्स टेस्ट किटबाट परीक्षण गरेको थियो। परीक्षणमा लागूऔषध सेवन गरेको पुष्टि भएपछि तीन जना चालकलाई नियन्त्रणमा लिइएको छ।

पक्राउ परेका चालकहरू सर्लाही हरिवन–७ बस्ने ना.६ ख ३१२४ नम्ब।को ट्रक चालक अनराज कार्की, मकवानपुर हेटौंडा–८ बस्ने ना ६ ख १७२९ नम्बरको ट्रक चालक बिक्रम थापा र मकवानपुर, मनहरी–९ बस्ने ना ४ ख ५१११ नम्बर ट्याङ्कर चालक अशोक थोकर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार सवारी दुर्घटनाको जोखिम र क्षति न्यूनीकरणका लागि नियमित चेकजाँचका क्रममा लागूऔषध सेवन गरेर सवारी चलाएको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको हो।

नियन्त्रणमा लिइएका चालकहरूविरुद्ध मकवानपुर जिल्ला अदालत हेटौंडाबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

लागूऔषध सेवन गरेर सवारी साधन चलाउनुले दुर्घटनाको जोखिम अत्यधिक हुने भएकाले प्रहरी प्रशासनले यस्तो गतिविधिमा संलग्न नहुन सबै चालकहरूलाई चेतावनी दिएको छ। साथै, नियमित स्वास्थ्य परीक्षण र सवारी जाँचलाई थप प्रभावकारी बनाइने बताइएको छ।