हेटौंडा – स्वर्गीय सदुर्शन घिमिरे स्मती यू–२१ हेटौंडा च्यालेन्ज कप फुटबल प्रतियोगिता आज मङ्गलवारदेखि सुरु हुँदैछ । एफसी मुण्डियाल हेटौंडाले ‘राष्ट्रिय खेलाडी बन्ने होड, उत्पादनमा जोड’ भन्ने नारा सहित आयोजना गरेको प्रतियोगिताका सम्पूर्ण तयारी पुरा भएको छ ।
हेटौडा उपमहानगरपालिका वडा नम्बर ५ स्थित पिप्ले–क्याम्पा रङ्गशालामा हुने प्रतियोगिताको उद्घाटन खेल समूह ए मा रहेका नागस्वती युवा क्लब र एनजेजेवाईसी सिमराबीच हुनेछ । खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले गर्ने तय भएको एफसी मुण्डियाल हेटौंडाका अध्यक्ष सुविन घिमिरेले जानकारी दिए । प्रतियोगितामा १४ वटा टिमको सहभागिता रहेको उनले बताए ।
आजदेखि सुरु हुने प्रतियोगिताको फाइनल खेल मङ्सिर १३ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार एक सय ११ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले नगद ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । विधाग रुपमा उत्कृष्ट हुने पाँच जना खेलाडी तथा प्रशिक्षकलाई नगद ५/५ हजार प्राप्त गर्ने छन् ।
युवा खेलाडी उत्पादन र प्रतिभावान खेलाडी पहिचानमा यस प्रतियोगिता महत्वपूर्ण मानिएको छ । मुण्डियालका अध्यक्ष घिमिरले आफ्नो परिवारको तर्फबाट विजेता (प्रथम) पुरस्कार नगद १ लाख ११ हजार १११ रुपैयाँ प्रयोजन गरेका छन् ।
यस प्रतियोगिता आयोजना गर्न स्वदेश तथा विदेशमा रहेका खेलप्रमी नेपालीहरुको राम्रो साथ पाएको अध्यक्ष घिमिरेले बताए । ९ दिन प्रतियोगिता सञ्चालन गर्दा ६ लाख खर्च हुने आयोजकको अनुमान छ ।