प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप: टाइब्रेकरमा एपीएफको भाग्य

२०८० माघ १८, बिहीबार १९:२१ बजे

हेटौंडा – टाइबेकरमा जित निकाल्दै सशस्त्र प्रहरी (एपीएफ) क्लब हेटौंडामा जारी छैठौं ‘स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप’  प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

हेटौंडा–६ स्थित गौरीटार रंगशालामा बिहीबार भएको खेलमा मच्छिन्द्र फुटबल क्लबलाई ४–३ गोलअन्तरले पराजित गर्दै एपीएफले अन्तिम आठमा स्थान बनाएको हो ।

निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरी भएपछि हारजितको निर्णय टाइब्रेकरबाट लिईएको हो। टाइब्रेकरमा एपीएफको जितमा गोलरक्षक एञ्जल श्रेष्ठ नायक बने । उनले मछिन्द्रका सनिष श्रेष्ठ र करिमको प्रहार रोके ।

मच्छिन्द्रका विमल घर्तिमगर, झिजोबा क्रिस्पटिफोर र सौरव लिम्बुले पेनाल्टीको सदुपयोग गरे। एपीएफका लागि फोडे फोफना, कुलदिप कार्की, विदेशी खेलाडी एनिसेट र दीपेश धिमाल जाली चुमाउन सफल भए।

दुई उत्कृष्ट पेनाल्टी रोक्न सफल एपिएफका गोलरक्षक एञ्जल श्रेष्ठ खेलको म्यान अफ दी म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

त्यसअघि निर्धारित समयको खेलमा अग्रता एपिएफले सुरुवाती अग्रता बनाएको थियो । एपिएफका लागि विदेशी खेलाडी एनिसेटले ३९ औं मिनेटमा गोल गरेका थिए । त्यसपछि खेलको ७२ औं मिनेटमा मच्छिन्द्रका विमल घर्तिमगरले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

बाँकी समयमा दुबै टोलीबाट थप गोल हुन नसकेपछि खेल ट्राइबेकरमा धकेलियो। ट्राइबेकरमा भाग्यमानी साबित हुन सफल एपीएफले सेमिफाइनल प्रवेशका लागि थ्रीस्टारको सामाना गर्नेछ ।

शुक्रबार नेपाल पुलिस क्लब र धनकुटाको राजारानी फुटबल क्लबवीच खेल हुनेछ । खेल दिउँसो ३ बजेबाट सुरु हुनेछ । जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा भएको प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ ।

त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान बुलेट मोटरसाइकल हात प्राप्त गर्नेछन् । त्यस्तै विधागत उत्कृष्ट हुने खेलाडी तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पाउने छन् ।