वीरगन्ज – पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणमा परी एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जिराभवानी गाउँपालिकाको वडा नम्बर ५ शङ्कर सरैयाको सखुवनिया निवासी ६० वर्षीय तुलसी राउत थारु रहेको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक मोहनजङ्ग बुढा थापाका अनुसार गाउँ नजिकैको जङ्गलमा शुक्रबार अपराह्न घाँस काट्न गएको बेला बाघको आक्रमणमा परी थारुको मृत्यु भएको हो । खोजविन गर्दा शनिबार बिहान थारु मृत अवस्थामा नजिकैको जङ्गलमा फेला परेका थिए ।
एउटा हात र एउटा खुट्टा नभएको अवस्थामा उनको शव फेला परेको थियो । घटनास्थलको मुचुल्का उठाएर शव परीक्षण ९पोस्टमार्टम०का लागि वीरगन्ज स्थित नारायणी अस्पतालमा पठाइएको इलाका प्रहरीको कार्यालयले जानकारी दिएको छ ।