प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

आगजनीमा परेर घाइते भएका ट्रक चालकको मृत्यु

२०८१ आश्विन २१, सोमबार ०८:४४ बजे

काठमाडौं – आगजनीमा परेका ट्रक चालकको मृत्यु भृएको छ । मृत्यु हुनेमा ट्रकका चालक भारत छप्रा उत्तर दिनाजपुर बस्ने ४० वर्षीय पदा राय रहेका छन् । उनलाई उपचारको लागि बीएण्डसी अस्पतालमा उपचार भई थप उपचार नर्थ बङ्गाल मेडिकल कलेजमा भइरहेकोमा शनिवार राती मृत्यु भएको हो ।

गत असोज ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउको विरोधमा झापा बन्दका बेला प्रसाईँका समर्थकको आगजनीमा परेका ट्रक चालक राय घाइते भएका थिए । बिर्तामोड–६ गिरीबन्धु टी–इस्टेटनजिक पूर्वपश्चिम राजमार्गमा सुनसरीको दुहबीबाट जुट पुर्‍याएर पूर्वतर्फ आउँदै गरेको डब्लुबी ७३ ई ३०५६ नम्बरको भारतीय ट्रकमा दुर्गा प्रसाईँका समर्थकहरूले आगजनी गरेका थिए ।

मृतक रायका आफन्तहरूले आइतबार साँझ एसियन हाइवेको काँकडभिट्टा नाकामा पानीटंकीतर्फ शव राखेर प्रदर्शन गर्दै नाका अवरोध गरेका थिए । आगजनी गर्ने दुर्गा प्रसाईँका ८ जना समर्थकलाई प्रहरीले पक्राउ गरिसकेको छ ।उनीहरूमाथि आपराधिक उपद्रो तथा ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको छ ।