प्रहर खबर
 २०८० चैत्र १६, शुक्रबार    

भिन्सेन्जोको सुखद सुरुवात, नेपाली राष्ट्रिय टिममा चार खेलाडीको डेब्यू

२०७९ चैत्र ८, बुधबार १४:४२ बजे

हेटौंडा – प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा नेपालले लाओसमाथि २–० गोलको सहज जित निकाले छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाललाई जित दिलाउन अनन्त तामाङ र नवयुग श्रेष्ठले एक एक गोल गरे ।

यो जितसंगै नवनियुक्त प्रशिक्षक अल्बर्टो भिन्सेन्जो एनेसले नेपाली फुटबल टिमको प्रशिक्षण यात्रामा सुखद सुरुवात गरेका छन् । एनेसको प्रशिक्षणको पहिलो खेलमा नेपालले लाओसमाथि जित निकाले हो ।

उनले आफ्नो आजको शिक्षणको पहिलो खेलमा नेपालका चार खेलाडीले डेब्यू गराएका छन् ।

सुरुआती ११ मा डिफेन्डर शनिष श्रेष्ठलाई डेब्यू गराएका थिए । सनिशले एपीएफ क्लबबाट 'ए' डिभिजन लिग खेलिरहेका छन् । अघिल्लो सिजन उनले फ्रेन्ड्स क्लबबाट खेलेका थिए ।

एनेसले खेलको ७४औं मिनेटमा नबिन लामाको स्थानमा मिडफिल्डर मणि कुमार लामा मैदान प्रवेश गराए । मणिले नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय खेल खेले ।

उनी सहिद स्मारक ए डिभिजन लिगमा एपिएफबाट खेलिरहेका छन् । मणिले यस अघि फुटसलको राष्ट्रिय टोलीबाट खेलिसकेका छन् ।

यस्तै एनेसले खेलको ८२ औं स्थानमा नवयुग श्रेष्ठको स्थानमा दीपक राज सिंह ठकुरीलाई मैदान प्रवेश गराएका थिए । उनी सहिद स्मारक ए डिभिजन लिगमा सातदोबाटो युथ क्लबबाट खेल्छन् । बाँकेका फरवार्डले लिगमा ४ गोल गरिसकेका छन् । उनी लिगको सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा रहेका छन् ।

खेलको इन्जुरि समयमा सुमित श्रेष्ठले डेब्यू गर्ने अवसर पाए । प्रशिक्षक एनेसले श्रेष्ठलाई आयुष घलानको स्थानमा मैदान प्रवेश गराएका थिए । फुटसलमा चम्किएका सुमितले मनाङ मर्स्याङ्दी क्लबबाट 'ए' डिभिजन लिग खेलिरहेका छन् । उनले यू-२० राष्ट्रिय फुटबल टिमबाट खेलिसकेका छन् ।

जितसँगै नेपालले पहिलो खेलमा ३ अंक जोडेको छ ।अब लाओसले चैत ११ गते भुटानसँग खेल्नेछ भने चैत १४ गते नेपालले भुटानसँग खेल्नेछ ।

सिंगल राउन्ड रोबिन पद्दतीमा हुने प्रतियोगिताको शिर्ष दुई टिमले फाइनलमा खेल्नेछन् । विजेता टिमले पाँच हजार अमेरिकी डलर प्राप्त गर्नेछ भने उपविजेताले तीन हजार डलर पाउने छ । फाइनल खेल चैत्र १७ गते साँझ ५ः३० बजे हुनेछ ।