प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मकवानपुर गोल्डकप: आयोजक टिम बाहिरियो, मनाङ सेमिफाइनलमा

२०७९ फाल्गुन ५, शुक्रबार १५:४६ बजे

हेटौंडा – मनाङ मर्स्याङ्दी क्लब हेटौंडामा जारी पाँचौं स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको क्वाटरफाइनल खेलमा मकवानपुर ११ लाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

मनाङको जितमा सुमित श्रेष्ठ र बार्सिलोनाका पूर्व खेलाडी डावान्डु डियाग्रेले एकएक गोल गरेका थिए । उता आयोजक टोली मकवानपुर–११ का साहिदले एक गोल फर्काएका थिए ।

हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा भएको खेलको खेलको १२ औँ मिनेटमा मनाङले सुमित श्रेष्ठको गोलमार्फत अग्रता लिएको थियो । मकवानपुर ११ का रक्षकले गरेको रङ्गपासको मौका उठाउँदै लेफ्ट ह्याड साइडबाट श्रेष्ठले प्रहार गरेको बल गोलमा परिणत भयो ।

प्रतिस्पर्धात्मक खेलको ३२ औँ मिनेटमा मकवानपुर ११ का सन्त गुरुङ गोल गर्नबाट चुके । उनको फ्रि–हेर्डर प्रहार मनाङका गोलरक्षक दीप कार्कीले उत्कृष्ट बचाउ गरे । त्यस्तै खेलको ३४ औँ मिनेटमा सन्तकै भली प्रहार गरे । बलले जाली चुम्न सकेन । गोलपोष्ट केही इन्चिमाथिबाट बल बाहिरियो ।

पहिलो हाफमा मकवानपुर–११ तुलना केही बलियो देखिएको मनाङले खेलको ४० औँ मिनेटमा पूर्वबार्सिलोनाका खेलाडी डियाग्रेको गोलमार्फत अग्रता दोब्बर बनायो । चौरको दायाँ साइडबाट रोशन राना मगरले गरेको क्रसलाई डियाग्रेले हेर्डर मार्फत गोल गरे ।

पहिलो हाफमा तुलनामा दोस्रो हाफमा आर्कमक देखिएको मकवानपुर–११ ले एक गोल गर्दै फर्किने प्रयास गर्यो । खेलको ५२ औँ मिनेटमा विश्व लामाले प्रहार गरेको बल मनाङका रक्षकलाई लाग्दै बाहिरिएपछि मकवानपुर–११ कर्नर पायो । सोही कर्नर बललाई अनमार्क रहेका साहिदले हेर्डर गर्दै गोलमा परिणत गरे ।

बाँकी समयमा दुबै टोली राम्रो मुभ बनाएपनि थप गोल भने गर्न सकेन । मनाङले आयोजक टोली मकवानपुरमाथि साँघुरो जित निकाल्यो । खेलको म्यान अफ द म्याच मनाङका कमल थापा घोषित भए । उनले १० हजार नगद प्राप्त गरे ।

प्रतियोगितामा भोली शनिबार अन्तिम क्वाटरफाइनल खेलमा हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबबीच खेल हुनेछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।

पराजित भएको साविक उपविजेता मकवानपुर–११ प्रतियोगिताबाटै बाहिरिएको छ । अब मनाङले विभागिय टोली शसस्त्र प्रहरी बल (एपिएफ)संग सेमिफाइलनमा प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको बिजेता टोलीले ट्रफिसहित नगद १५ लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछ ।

प्रतियोगिताको सर्बोउत्कृट खेलाडीले रोयल इन्फिल्ड बुलेट बाईक हात पार्नेछन् ।त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् ।