प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

मेहेलेमा फेरि पहिरो जाँदा बाबुछोराको मृत्यु

२०८० असार ४, सोमबार ०७:२० बजे

काठमाडौं – ताप्लेजुङको मेहेलेमा फेरि पहिरो जाँदा पुरिएर बाबुछोराको मृत्यु भएको छ । सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा पहिरोमा पुरिएर केशरकुमार राई र उनका छोरा सुरेश कुमार राईको मृत्यु भएको हो ।

प्रहरीका अनुसार सोमबार बिहान पहिरोमा परी केशरकुमार राई बेपत्ता भएका थिए भने सुरेशलाई गम्भीर घाइते अवस्थामा उद्धार गरिएको थियो । उद्धार गरिएपनि जिल्ला अस्पताल लैजाने क्रममै उनको मृत्यु भएको जनाइएको छ ।

त्यस्तै बुबा केशरकुमार पहिरोले पुरिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । सोही पहिरोमा परी अर्का स्थानीयवासी राजकुमार राई घाइते भएका छन् ।

लगातारको बर्षाका कारण मेहेले साविक ९ नम्बरका अधिकांश मानिसले आफ्नो घर छाडेर अन्यत्र सरेका छन् । सुरक्षित भनिएकै ठाउँ पनि भारी वर्षाका कारण जोखिममा रहेको छ । मेहेलेसहित सुरुम्खिम, खेवाङ, पेदाङलगायतका पूर्वी क्षेत्रमा यो पटक अत्यधिक वर्षा भइरहेको छ।

निरन्तरको वर्षाका कारण त्यहाँका नागरिक त्रसित भएर बस्नुपर्ने बाध्यता रहेको स्थानीयहरुले बताए। मेहेलेमा शनिबार गएको पहिरोमा परी तीन जना अझै बेपत्ता रहेका छन् भने एक जनाको शव भेटिएको छ। मेहेलेमा मात्र छ घर पूर्णरुपमा बाढी पहिरोले बगाएको छ।