प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि बागमती प्रदेश सरकारको १० करोड

२०८१ पौष ११, बिहीबार १९:४७ बजे

हेटौंडा – बागमती प्रदेश सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणका लागि १० करोड रुपैयाँ अनुदान दिने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले वार्षिक बजेट कार्यक्रमअनुसार भरतपुर महानगरपालिकालाई उक्त रकम अख्तियारी दिने निर्णय गरेको हो।

प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला एवं कानुनमन्त्री सुरजचन्द्र लामिछानेका अनुसार रंगशाला निर्माण अघि बढाउन अनुदानस्वरूप यो रकम उपलब्ध गराइनेछ।

यो अनुदान रंगशाला निर्माणका लागि बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाबीच भएको लागत साझेदारी सम्झौताअनुसार प्रदान गरिएको हो। सम्झौताअनुसार रंगशाला निर्माणको ७० प्रतिशत लागत बागमती सरकारले र ३० प्रतिशत भरतपुर महानगरपालिकाले व्यहोर्नेछ।

रंगशालाको निर्माण कार्य २०८३ पुस २२ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। अलपत्र अवस्थामा रहेको रंगशाला निर्माण कार्यलाई पुनः गति दिन यस अनुदानले महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।