काठमाडौं – नेपाल सरकार र यातायात व्यवसायीबीच भएको वार्ता सकारात्मक भएपछि यातायात बन्द फिर्ता भएको छ । सम्झौता गरिएका मागहरू पूरा नगरेको भन्दै आन्दोलनमा उत्रिएका यातायात मजदुर र व्यवसायीसँग सरकारले आजै वार्ता गरेको थियो।
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको पहलमा भएको वार्तापछि बन्दा फिर्ता भएको जानकारी उपप्रधानमन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले दिए । दुवै पक्षबीच भएका सहमतिलाई लिएर प्रेस वक्तव्य तयार हुँदै गरेको जानकारी पनि सल्लाहकार गिरीले बताए ।
यातायात व्यवस्था विभागका महानिर्देशक तुलसीनाथ गौतमका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसँग यातायात व्यवसायी र मजदुरबीच सिंहदरबारमा भएको वार्ता सकारात्मक भएको र यातायात बन्दका कार्यक्रम फिर्ता लिने निर्णय भएको बताए ।
वार्तामा यातायात मजदुरलाई कुटपिट गर्नेहरूमाथि कारबाही गर्ने, ल्होत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्कमा गरेको भनिएको अनियमितता लगायतका विषयमा छानबिन गर्ने, बाँकी मुद्दाहरूबारे मन्त्रालयले गठन गरेको सर्वपक्षीय कार्यदलमा छलफल गर्ने सहमति भएको उनले जानकारी दिए ।
ट्राफिक जरिवानाको विषयलाई लिएर यातायात मजदुरहरूले सोमबार बालाजु बसपार्क क्षेत्रमा प्रहरीको गाडी तोडफोड गर्नाका साथै आगजनी गरेका थिए। ट्राफिकले वृद्धि गरेको जरिवानाविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले आयोजना गरेको आन्दोलनका क्रममा मजदुरहरूले आगजनी तथा तोडफोड गरेका थिए।
आन्दोलनकारीले ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखेको डिभाइडर, चोकमा प्रहरी उभिने आइल्यान्ड लगायतका संरचनामा समेत आगो लगाइदिएका थिए। बालाजु, माछापोखरी, गोँगबु र सामाखुसी चोकमा मजदुरहरूले सोमबार सडक अवरुद्ध गरेका थिए। आन्दोलनकारीले प्रहरीका दुईवटा भ्यानमा आगजनी गर्नाका साथै माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी पोष्ट भत्काइदिएका थिए।