प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैद तथा जरिवानाको फैसला

२०८१ मंसिर १३, बिहीबार १९:०६ बजे

काठमाडौं – विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई ८ वर्ष कैद सजाय सुनाएको छ। बिहीबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तुलसीप्रसाद थारू तथा रितेन्द्र थापाको इजलासले पौडेललाई कैदसँगै तीन करोड ४२ लाख २२ हजार ८ सय रुपैयाँ जरिवाना तथा सोही बराबरको बिगो तिर्ने फैसला सुनाएको हो।

त्यस्तै, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठलाई पनि ८ वर्ष कैद, सोही रकम जरिवाना, र बिगो तिर्ने सजाय तोकिएको छ। अदालतले अन्तशुल्क स्टिकर खरिद प्रक्रियामा अनियमितता गरेको ठहर गर्दै उनीहरूलाई दोषी करार गरेको हो।

यसअघि, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असार ९ गते विकल पौडेलसहित १२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। सोही प्रकरणमा तत्कालीन मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध पनि मुद्दा दायर गरिएको थियो। तर, विशेष अदालतले उनलाई सफाइ दिएको छ।

विशेष अदालतले कात्तिक १४ गते दोषी ठहर गरेपछि बिहीबार सजाय निर्धारणको लागि पेसी तोकेको थियो। फैसलाअनुसार, दोषी ठहर गरिएका व्यक्तिहरूले कैदसँगै कानुन अनुसार तोकिएको जरिवाना रकम पनि तिर्नुपर्नेछ।