हेटौंडा – मकवानपुरबासीले बागमती प्रदेशको राजधानी पाए, तर जनताले सोचे अनुरुप विकासको अनुभूति गर्न भने पाएनन् ।
एउटै भवनको कोठा–कोठामा मन्त्रालय बनाएर मन्त्री बन्ने माननीयहरुको इच्छा पुरा भयो, तर जनताको न्युनतम् आधारभूत आवश्यकता पुरा भएन ।
सिला खोज्ने हो, भने उम्मेदवार चुनाव चितेपछि गर्छु भनेका अधिकांश योजनाहरु बोलीमै सीमित छन् । पुराना जनप्रतिनिधिको कामबाट मकवानपुरबासी सन्तुष्ट छैनन् । पुराना जनप्रतिनिधिलाई लक्षित गर्दै असन्तुष्ट जनताले ‘नो, नट अगेन’ अभियान समेत चलाएका छन् ।
‘नो नट अगेन’ अभियानकै बीचबाट आगामी मंसिर ४ गते हुने निर्वाचनमा मकवानपुरमा पूर्व ६ माननीयहरु चुनावी मैदानमा उत्रिएका छन् । त्यो पनि पुराना र थोत्रा योजना लिएर ।
जिल्लाको दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्यका लागि ६९ जनाले उम्मेदवारी दिएका छन् । जसमा उम्मेदवार बनेका राप्रपा नेपालका अध्यक्ष कमल थापा र नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय(डिना) पुर्वमाननीय हुन् ।
नेकपा एकिकृत समाजवादी स्थायी कमिटी सदस्य बिरोध खतिवडा, नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज कुमारी मोक्तान, माओवादी केन्द्र बागमती प्रदेश कमिटी उपाध्यक्ष प्रेम बहादुर पुलामी (छिन्तु) र नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्र बहादुर बानियाँ निवर्तमान माननीय हुन् ।
थापा नेकपा एमालेको समर्थनमा र बामलोकतान्त्रिक गठबन्धनबाट डीना एकैनिर्वाचन क्षेत्रमा आमुन्ने सामुन्ने भएका छन् । उता बामलोकतान्त्रिक गठबन्धनका खतिवडा, मोक्तान, छिन्तु र बानियाँ छुट्टाछुटै निर्वाचन क्षेत्रबाट भिड््दैछन् ।
यी ६ मध्ये बानियाँ उम्मेदवार बनेका मकवानपुर २ को (ख) बाहेक अन्य क्षेत्रमा एक दलको उल्लेख्य मत छैन । तर, सत्ता गठबन्धनको मत अधिकांश सबै क्षेत्रमा एकदमै बलियो छ । त्यसैले यी उम्मेदवारले चुनाव जित्न गठबन्धनका अन्य दलको मत तान्नु पर्ने हुन्छ ।
पुर्वमाननीयको लागि यो चुनावी भिडन्त निकै रोचक हुने अनुमान गरिएको छ । थापा एकाघरकै दीपक सिंहसँग, खतिवडा आफ्नै चेलासँग भिड्दैछन् भने कुमारी र छिन्तु आफ्नै पुर्वसहयात्रीसँग ।
स्थानीय तह निर्वाचनमा वडाअध्यक्षले पाएको मत हेर्दा एक पार्टीले अर्को पार्टीको मत आफ्नो पक्षमा ल्याउनु पर्ने चुनौती देखिन्छ । हेरौ पुर्व माननीयहरु कति सुरक्षित छन् ?
कमल थापा
कमल थापा मकवानपुरका सबैभन्दा हेविवेट नेता हुन् । दुई पटक सांसद बनेका थापा ९ पटक मन्त्री बनेका थिए । उनी मकवानपुर क्षेत्र नं.१ बाट सूर्य चिह्न लिएर प्रतिनिधिसभा सदस्यमा चुनावी मैदानमा छन् ।
उनको कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्यायसँग प्रतिस्पिर्धा छ । २०७४ मा पराजित भएका थापालाई यसपटक चुनाव जित्न निकै चुनौती छ । यस क्षेत्रमा दलका वडाध्यक्षका उम्मेदवारले पाएको मत हेर्दा सूर्यचिह्न (एमाले)मा ३८ हजार ६५ मत देखिन्छ ।
उक्त मत सत्ता गठबन्धनसँग आवद्ध दलका वडाध्यक्षका उम्मेदवारले पाएको भन्दा कम हो । उनीसँगको चुनावी प्रतिस्पर्धामा राप्रपाका दीपकबहादुर सिंह पनि छन् ।
महालक्ष्मी उपाध्यय (डीना)
कांगेसी नेत्री डीनाले २०४८, २०५१, २०५६ र २०७४ को चुनावमा पराजित भइन् । तर, उनले २०७० मा संविधानसभा निर्वाचनको समानुपातिक तर्फबाट प्रतिनिधित्व गरिसकेकी छन् ।
२०७९ को निर्वाचनमा क्षेत्र १ मा कमल थापासँग भिड्दै छिन् । उनको जितको लागि कांग्रेसको वडाअध्यक्षले पाएको मत पर्याप्त छैन ।
तर, गठबन्धनसँग आवद्ध दलका वडाध्यक्षले पाएको मत हेर्दा यसपटक डीना सुरक्षित देखिएकी छन् । उनीहरुले पाएको मत ५४ हजार ५५१ छ ।
जसमा कांग्रेसका वडाध्यक्षका उम्मेदवारले ३४ हजार ७२, माओवादीका १७ हजार ११७ र एकीकृत समाजवादीका ३ हजार २८३ मत ल्याएका थिए । त्यस्तै राप्रपाले ४ हजार २८ मत ल्याएको थियो ।
विरोध खतिवडा
खतिवडा २०४८, ०५१, ०५६ र ०७४ मा निर्वाचित सांसद बने । सांसद भएको ३० बर्षपछि खतिवडा स्वास्थ्यमन्त्री बन्ने अवसर पनि पाए । चारपटक सांसद बनेका खतिवडा पाँचौपटक सांसद बन्ने दौडमा छन् । उनले मकवानपुर क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका छन् ।
खतिवडा आफ्नै राजनीतिक चेला एमालेका महेश बर्तौलासँग प्रतिस्पर्धा गर्नेछन् । यहाँ एकीकृत समाजवादीको मत एकदमै कम छ । तर, सत्ता गठबन्धनको मत भने एमालेको भन्दा एकदमै धेरै छ ।
वडाध्यक्षका उम्मेदवारको मत हेर्दा खतिवडा सहज स्थितिमै देखिन्छन् । यस क्षेत्रमा सत्ता गठबन्धनका वडाध्यक्षका उम्मेदवाले ५९ हजार ७६५ मत पाएका छन् ।
यता एमालेका वडाध्यक्ष उम्मेदवारहरुको मत ३६ हजार ९६२ मात्र छ । सत्ता गठबन्धनको कांग्रेसका वडाध्यक्ष उम्मेदवारको मत ३४ हजार २ सय ३६ रहेको छ ।
यस्तै माओवादी केन्द्रका उम्मेदवारले २२ हजार ६७७ मत प्राप्त गरेका छन् । एकीकृत समाजवादीको मत भने २ हजार ८८ रहेको छ । त्यस्तै राष्ट्रिय जनमोर्चाका वडाध्यक्ष उम्मेदवारले पाएको मत ४ सय ६४ छ ।
इन्द्रबहादुर बानियाँ
२०६४ को पहिलो संविधानसभाको चुनावमा पराजित भएका बानियाँ २०७० मा दोस्रो चुनावमा जिते । गृहराज्य मन्त्री पनि बने ।
त्यसपछि उनी २०७४ मा बामगठबन्धनका उम्मेदवारलाई पराजित गर्दै प्रदेशसभा सदस्य निर्वाचित भए । प्रमुख प्रतिपक्ष दलका नेता बने मुख्यमन्त्री बन्न भने पाएनन् ।
उनी यसपटक मुख्यमन्त्री बन्ने योजना सहित मकवानपुर क्षेत्र नं.२ को (ख) मा प्रदेशसभा सदस्य पुनः चुनाव लड्दै छन् । उनी त्यहाँ सहज स्थितिमा छन् । उनी नेकपा एमालेका लालबहादुर थापासँग भिड्दैछन् ।
वडाअध्यक्षको उम्मेदवारको मत हेर्दा एमालेको भन्दा कांग्रेसको मत २ हजार २६७ सयले बढी छ । गठबन्धनका वडाअध्यक्षका उम्मेदवारले २९ हजार ४८८ मत पाएका थिए भने एमालको मत १५ हजार २५२ छ ।
यस क्षेत्रमा कांग्रेसको १७ हजार ५१९, माओवादीको ११ हजार २४१, नेकपा एसको ७२० र राप्रपाको ७२८ मत वडाअध्यक्षका उम्मेदवारले पाएका थिए ।
कुमारी मोक्तान
मोक्तान शान्ति प्रक्रियापछि २०६४ मा पहिलो संविधानसभाको सदस्य बनिन् । २०७४ मा बामगठबन्धबाट चुनाव जितेर बागमती प्रदेशको सामाजिक विकास मन्त्री भइन् ।
उनी फेरि पनि मकवानपुर क्षेत्र नंं.२ को (क) मा प्रदेशसभा सदस्य बन्न पुनः निर्वाचनमा होमिएकी छन् । उनको प्रतिद्वन्दी एमालेका विष्णु ढकाल छन् ।
त्यहाँ एमालेको तुलनामा माओवादी केन्द्रको उपस्थित अलि कमजोर छ । मोक्तानले चुनाव आफ्नो पक्षमा ल्याउन कांग्रेकको अधिकांश मत तान्नु पर्नेछ ।
यहाँ वडाध्यक्षका उम्मेदवारको मतपरिणाम अनुसार गठबन्धन ८ हजार ५७५ मतले अघि छ । एमाले वडाध्यक्षका उम्मेदवारको मत २१ हजार ७१० छ भने गठबन्धनको ३० हजार २८५ मत छ ।
जसमा माओवादी केन्द्रको ११ हजार ४३६ मात्रै छ । कांग्रेसको वडाअध्यक्षका उम्मेदवारले १६ हजार ७१७ पाउँदा नेकपा एसले १ हजार ६६८ मत ल्याएको थियो ।
प्रेमबहादुर पुलामी (छिन्तु)
छिन्तु २०७४ मा मकवानपुर क्षेत्र नं.१ को (क) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । छिन्तु यसपटक पनि सोही क्षेत्रबाट चुनाव लड्दै छन् । उनी नेकपा एमालेका कमल विष्टसँग भिड्ने छन् ।
यस क्षेत्रमा एमालेको तुलनामा माओवादी केन्द्रको अवस्था थोरै कमजोर छ । गत चुनावमा एमालेको भरमा चुनाव जितेका छिन्तु यसपटक कांग्रेसकै मतको भरमा छन् ।
स्थानीय तह निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले प्राप्त गरेको मत हेर्दा गठबन्धनको ३२ हजार ७८९ मत छ भने एमालेको १९ हजार ८१० मत छ ।
यहाँ माओवादी केन्द्रका वडाअध्यक्षका उम्मेदवारले पाएको मत १२ हजार १८२ मात्रै छ । यस क्षेत्रमा सबैभन्दा बढी कांग्रेस वडाध्यक्ष उम्मेदवारको १९ हजार ७२० मत छ । त्यस्तै राप्रपाको ९१५ र नेकपा एसको ८८६ मत पाएका थिए ।