प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडा बजार क्षेत्रमा कालोपत्रे गर्दा पुरियो साइकल लेन, अब कस्ले बनाउँछ ?

२०७९ पौष ७, बिहीबार १४:३९ बजे

हेटौंडा – पुर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा उपमहानगरपालिका क्षेत्रको सडकखण्डमा अन्डुलेशन अर्थात बोलीचालीको भाषामा डल्लाडुली उठेको थियो । त्यसको कारण राजमार्गमा दुर्घटना हुने गरेको थियो ।

वर्षायाममा कालोपत्रे भत्किएर खाल्डाखुल्डी भएको भन्दै सडक डिभिजन कार्यालयको आलोचना हुने गरेको थियो । सुन्दर नगरी हेटौंडामा राजमार्ग फराकिलो नभएको गुनासो छदैछ, भएको सडक पनि गतिलो नभएको गुनासो उत्तिकै थियो ।

लामो समयपछि सडक डिभिजनले सडकको अन्डुलेशन काटेर अस्फाल्ट कंक्रिट बाट कालोपत्रे गरिएको छ । राजमार्ग अन्तर्गत हेटौंडा १४ को रातमाटेदेखि हेटौंडा–११ थानाभ¥याङसम्म कालोपत्रे गरिएको हो ।

५ दशमलव ३४ किलोमिटर सडक करिब साढे चार करोडको लागतमा कालोपत्रे गरिएको सडक डिभिजन कार्यालय हेटौंडाका सुचना अधिकारी इन्जिनियर यादव सुवेदीले जानकारी दिए । उक्त रकम विश्व बैंकको ७० र नेपाल सरकारको ३० प्रतिशत रहेको उनले बताए ।

साइकल गुडाउनै नपाई साइकल लेन पुरियो
अस्थब्यस्त हेटौंडा बजारको सडकमा जसको लागि बनाईयो, उसैले प्रयोग गर्न नपाएपछि ‘बाँदरको पुच्छर लौरो, हतियार’ नै साबित भएको साइकल लेन मेट्टिने निश्चित भएको छ । मिना कुमारी लामाले मेयर भएको महिना दिन नवित्दै चर्चाकै लागि निर्माण गरेको साइकल लेन भएको सडकमा कालोपत्रे भएपछि मेट्टिने भएको हो ।

पाँच लाख लगानीमा बुद्धचोकबाट चारै दिसातर्फ ५/५ सय मिटर साइकल लेन रेखाङ्कन गरिएको थियो । हाल सो क्षेत्रमा कालोपत्रेको काम धमाधम भइहरेको छ भने बिना कामको साइकल लेन केही मेट्टिदै छन् भने केही मेट्टिने क्रममा रहेको छ ।

मेटिएको साइकल लेन कस्ले बनाउँछ ?
इन्धन खपत घटाउने र वातावरणमैत्री सवारीलाई मध्यनजर गर्दै साइकल लेनमा साईकलयात्रीलाई सहज तरिकाले सुरक्षित यात्रा गराउनु राम्रो पक्ष हो । तर, साइकल लेन बनाएको सात महिना वित्न नपाउँदै लेन पुरिएपछि हेटौंडा उपमहानगरमाथि नै प्रश्न चिह्न उठेको छ ।

सडक कालोपत्रे गर्दा साइकल लेन मात्रै होइन्, सडक रेखाङ्कन, जेब्राक्रस, ट्राफिक संकेत लगायत पुरिएको छ । अब त्यो कस्ले बनाउँछ ? अनि साइकलले पनि बन्छ ?

साइकल लेन बाहेक अन्य जेब्राक्रसदेखि रेखाङ्कनसम्म सडक डिभिजनले गर्ने इन्जिनियर सुवेदीले बताए । ‘उपमहानगरले बनाएको साइकल लेन सडक मर्मत गर्दा पुरियो भन्दै हामी बनाउँदैनौँ, यस योजनामा त्यसको प्रावधान पनि छैन,’ उनले भने, ‘डिभिजनले साइकल लेन बनाउँदैन ।’

उता हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का वडाअध्यक्ष सविन न्यौपाने साइकल लेन बनाउने विषयमा छलफल नभएको बताउँछन् । यसअघि यही साइकल लेन बनाउँदा मेयर लामाको चौतर्फी आलोचना भएको थियो । उनले साइकल लेन हाल्ने, नहाल्ने बारे छलफल गरिने बताए ।

यो पनि पढ्नुहोस् 

हेटौंडामा साइकल लेन निर्माण

हेटौंडामा पाँच लाखको मनमौजी साइकल लेन, सडकमा ठेलमठेल