प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

भरुवा बन्दुक पड्किँदा एक जनाको मृत्यु, ४ थान बन्दुक सहित ८ जना पक्राउ

२०७९ जेठ १४, शनिबार १३:०२ बजे

हेटौंडा – जंगलमा सिकार खेल्न जाने क्रममा भरुवा बन्दुक पड्किँदा १ जनाको मृत्यु भएको छ ।

लमही नगरपालिका–१ गौराह भन्ने जंगलमा सिकार खेल्न गएको अवस्थामा भरुवा बन्दुक पड्किँदा सोही नगरपालिका गौराह बसन्तपुर बस्ने २३ वर्षीय कालुराम घर्ती मगरको शुक्रबार दिउँसो मृत्यु भएको हो ।

कालुराम घर्ती मगर सहित ९ जना सिकार खेल्न गएकोमा सँगै गएका ४२ वर्षीय बुद्धिराम घर्तीमगरले बोकेको भरुवा बन्दुक लहरामा एक्कासि अड्डिन गई पड्किँदा कालुरामको घाँटीमा छर्रा लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले मृतक सँगै गएका ८ जनालाई ४ थान भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।