हेटौंडा – दोश्रो संस्करणको बागमती प्रदेश फुटबल लिग हेटौंडाको पिप्ले-क्याम्पा रंगशालामा सुरु भएको छ। उद्घाटन खेलमा चित्लाङ एफसी काठमाडौंले शानदार प्रदर्शन गर्दै माउन्ट एभरेस्ट एफसी काभ्रेलाई ३-० ले पराजित गरेको छ।
समूह ‘ए’ अन्तर्गतको पहिलो खेलमा काठमाडौंका अंकित रास्कोटीले ह्याट्रिक गोल गर्दै टिमलाई जित दिलाए। उनले खेलको ६औँ, २०औँ, र ७९औँ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे।
ब्यक्तिगत ३ गोल (ह्याट्रिक) गर्दै आफ्नो टोलीलाई शानदार जित दिलाएका रास्कोटी खेलको म्यान अफ द म्याच घोषित भए। उनले नगद ३ हजार प्राप्त गरे ।
लिगमा भोलि दुईवटा खेल हुने म्याच कमिसर छवि सुवेदीले जानकारी दिए। पहिलो खेलमा दोलखा र नुवाकोट भिड्नेछन् भने दोश्रो खेल भक्तपुर र सिन्धुलीबीच हुनेछ।
बागमती प्रदेश फुटबल लिगको यस संस्करणले युवा प्रतिभाहरूलाई प्रदेशस्तरमा उत्कृष्ट प्रदर्शनको मौका प्रदान गर्ने विश्वास गरिएको छ।