प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सुनचाँदीको कारोबार घट्यो

२०८० आश्विन ७, आईतबार ०३:२७ बजे

काठमाडौँ – बजारमा सुनचाँदीको कारोबार ६० प्रतिशतले घटेर ४० प्रतिशतमा सीमित भएको छ । बजारमा सुनचाँदीको माग न्यून हुँदा कारोबारमा उल्लेख्य गिरावट आएको हो । 

लगातार सुनको मूल्यमा भएको वृद्धि र आर्थिक मन्दीका कारण सुनचाँदीको कारोबार न्यून हुँदा पछिल्लो समय ४० प्रतिशतमा सीमित भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले सुनको कारोबारमा आधाभन्दा बढीले गिरावट आएको जानकारी दिए । उपभोक्तासँग क्रयशक्ति पर्याप्त नहुँदा सिजनको समय सुरु भए पनि सुनको कारोबार बढ्न नसकेको उनको भनाइ छ ।

तिजमा दैनिक ३० देखि ४० किलो सुन बिक्री हुने गरेको थियो, यसपालि दैनिक १० किलोभन्दा बढी बिक्री हुन नसकेको बताउँदै उनले बजारमा माग नै कम हुँदा सुनचाँदीको कारोबार हुन नसकेको बताए । हाल सुन प्रतितोला एक लाख ११ हजार ५५० रुपियाँमा कारोबार भइरहेको छ ।

गत वर्ष असोज पहिलो साता सुन प्रतितोला ९१ हजार आठ सय रुपियाँमा कारोबार भएको थियो । एक वर्षको अवधिमा सुनको मूल्य प्रतितोलामा झन्डै २० हजार रुपियाँले वृद्धि भएको छ । सुनको मूल्य बढ्दा स्थानीय बजारमा कारोबारमा समेत उल्लेख्य गिरावट आएको हो । गोरखापत्र दैनिकबाट