प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बर्षा र हिमपातसंगै देशभर चिसो बढ्यो, यस्तो रहला आगामी तीन दिनको मौसम

२०८० मंसिर १९, मंगलबार ०७:५९ बजे

हेटौंडा – नेपालमा हिउँदको पहिलो बर्षा र हिमपातसंगै देशव्यापी रूपमा चिसो बढेको छ । अधिकतम र न्यूनतम तापक्रम दुवैमा गिरावट आउँदा हिमाली र पहाडी भेगमा बढी जाडो महसुस भएको छ । मधेश र तराई भेगमा हुस्सु कुहिरोसँगै शीतलहर सुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् रोजिन श्रेष्ठका अनुसार पश्चिमी वायु बढी सक्रिय रहेको नेपालको गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशमा आइतबार रातिदेखि नै हल्का वर्षा भइरहेको छ । सोमबारदेखि त्यो फैलँदै बागमती प्रदेश हुँदै पूर्वतिर सर्ने क्रम सुरु भएको छ । उनले यी भेगका हिमाल र पहाडी भेगमा हल्का वर्षासँगै हिमपात हुने सम्भावना रहेको जानकारी दिए ।

उच्च हिमाली भेगको रारा क्षेत्र, जुम्ला, हुम्ला, मुस्ताङलगायतका स्थानमा लगातार हिमपात भइरहेको छ ।उच्च पहाडी र हिमाली भेगका गण्डकी, कर्णाली, सुदूरपश्चिममा चिसो एक्कासि बढ्दा जनजीवन प्रभावित बनेको छ । गण्डकी प्रदेशको जोमसोममा दुई दिनयता सबैभन्दा कम तापक्रम रेकर्ड भएको छ ।

जोमसोममा माइनस ५.५ डिग्री सेल्सियस तापक्रम पुगेको छ । देशका अन्य भूभागमा पनि न्यूनतम तापक्रममा गिरावट हुने क्रम जारी छ । काठमाडौँमा ७.० डिग्री सेल्सियसबाट तल झर्दाे क्रममा रहेको छ । जुम्लामा ३.० डिग्री सेल्सियस, ओखलढुङ्गामा ८.० डिग्री सेल्सियसबाट तल झर्ने क्रममा रहेको छ । तराई–मधेशका भूभाग विराटनगर, जनकपुर, सिमरा, नेपालगन्ज, धनगढीलगायतका क्षेत्रमा १३ डिग्री सेल्सियससम्म न्यूनतम तापक्रम झरेको छ । 

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । साथै देशको पुर्वी भूभागमा बंगालको खाडीको मध्यपश्चिम क्षेत्र आसपास विकसित ‘MICHAUNG’ नामक शक्तिशाली सामुद्रिक आँधीको समेत आंशिक प्रभाव रहेको महाशाखाले उल्लेख गरेको छ ।

मंगलबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

२०८० मंसिर २० गते (बुधबार)
दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

२०८० मंसिर २१ गते (बिहीबार)
दिउँसो कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राती कोशी र मधेश प्रदेशमा आंशिक बदली रही देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

वर्षा र हिमपातसँगै देशभरिको तापक्रममा गिरावट आउन सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।