प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बाढीमा फसेकाको उद्धारमा खटिएका असईको शव त्रिशुली नदीमा फेला

२०८२ असार २५, बुधबार ०६:२६ बजे

हेटौँडा । चितवनको १५ किलोमा एक प्रहरीको शव फेला परेको छ । भरतपुर महानगरपालिका–२९ स्थित १५ किलोमा त्रिशुली नदीमा तैरिरहेको अवस्थामा शव फेला परेको हो ।

फेला परेको शव प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठको भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालका अनुसार मृतक श्रेष्ठ रामेछाप तामाकोशी गाउँपालिका–४ स्थायी निवासी हुन् ।

उनी हाल रसुवाको प्रहरी चौकी हाकुमा दरबन्दी भई इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत थिए । 

प्रहरी स्रोतका अनुसार असार २४ गते बिहान रसुवा स्थित भोटेकोशीमा आएको बाढीमा फसेका व्यक्तिको उद्धारका लागि खटिएको अवस्थामा बेपत्ता भएका थिए ।

उनको शव चितवन स्थित त्रिशुली नदीमा तैरिएको अवस्थामा फेला परेको थियो ।

शवको दाहिने खुटाको घुँडादेखि तलको भाग छैन भने भने बायाँ खुट्टामा बुट लगाएको अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक खनालले बताए ।

हाल शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि अस्पताल लैजाने तयारी भइरहेको छ ।