प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हत्या गरी फरार दम्पती चार महिनापछि पक्राउ

२०८० बैशाख ८, शुक्रबार १३:४० बजे

बारा – बाराको बिश्रामपुरमा एक युवकको हत्या गरी फरार रहेका दम्पतीलाई प्रहरीले चार महिनापछि पक्राउ गरेर शुक्रबार सार्वजनिक गरेको छ । विश्रामपुर गाउँपालिका-५ इटियाहीमा मंसिर २७ गते भएको उक्त घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले पतिपत्नीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१५ भिष्वाका २४ वर्षीय रामु भन्ने कैलाश महतो र उनकी पत्नी २० वर्षीया रौशनी देवी रहेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका-८ राजानगरका २२ वर्षीय महेश साहको हत्या गरी भारतको विभिन्न क्षेत्रमा लुक्दै आएका उनीहरूलाई नेपाल–भारत सीमा क्षेत्रबाट बुधबार पक्राउ गरेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

प्रहरी उपरीक्षक बोगटीका अनुसार उनीहरूले महेशको हत्या गरी इटियाहीस्थित भुलन चौरसियाको खेतमा रहेको परालको भुसमा शव लुकाएर फरार भएका थिए । डिस ‘केवल’ को तारले घाँटी कसेर महेशको हत्या गरेको र अपराध लुकाउन परालको भुसमा शव लुकाएर उनीहरू फरार भएको प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए ।

मृतक महेश र कैलाशकी पत्नी रोशनीबीच प्रेम सम्बन्ध रहेको र सोही कारण घटना भएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार महेश र रोशनी लामो समयदेखि ‘लिभिङ टुगेदर’ सम्बन्धमा रहँदै आएका थिए । घटनाको दिन महेश र रोशनीबीच इटियाहीमा भेट्दै गर्दा पति कैलाश आएको र सोही समयमा विवाद भएपछि पतिपत्नी मिलेर हत्या गरेको प्रहरी उपरीक्षक बोगटीले बताए ।

‘दुवै जना लिभिङ टुगेदरमा बस्दै आएका थिए । दुवैबीच विवाह हुने कुरा समेत भएको थियो । तर, रोशनी विवाहित भएका कारण महेशका परिवारले मानेको थिएन,' प्रहरी उपरीक्षक बोगटीले भने, ‘रोशनी र महेश मंसिर २७ गते भेट गरिरहेको स्थानमा कैलाश पुगे र सोही क्रममा विवाद भएपछि दुवै पतिपत्नी मिलेर हत्या गरेको देखियो ।’

घटनापछि रोशनी र कैलाश भारतको बिहार, दिल्ली, केरलामा लुकेर बसेका थिए । भारत प्रहरीसँगको समन्वयमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।