प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

राक्सिराङ्गमा आयुर्वेद औषधालय सञ्चालनमा

२०८२ असार १७, मंगलबार १९:०५ बजे

हेटौंडा । मकवानपुरको पश्चिमी क्षेत्र राक्सिराङ गाउँपालिका-५ ठाडेचुरीमा निर्मित आयुर्वेद औषधालय भवनको मंगलबार उद्घाटन गरिएको छ।

गाउँपालिका अध्यक्ष राजकुमार मल्लको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस बागमती प्रदेश सभापति तथा बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले पञ्चकर्म तथा पूर्वकर्म आयुर्वेद औषधालयको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बानियाँले आयुर्वेदलाई प्राचीन मानवीय सेवा प्रणालीको एक प्रभावकारी माध्यमको रूपमा चिनाउँदै यसले आधुनिक औषधिले दिने साइड इफेक्टबाट मुक्त जनस्वास्थ्य सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

उनले स्थानीय तहसँग समन्वय गरेर अस्पतालका अन्य पूर्वाधार निर्माणमा समेत प्रदेश सरकारले सहयोग गर्ने बताउँदै राक्सीराङ्गमा वर्षौंदेखिको जग्गा पूर्जासम्बन्धी समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरेर समाधान गरिने बताए ।

समारोहमा गाउँपालिका उपाध्यक्ष बनस्थम थिङ, वडा नम्बर ५ का अध्यक्ष हरिबहादुर प्रजालगायतले मन्तव्य व्यक्त गरेको कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, विभिन्न दलका प्रतिनिधि र स्थानीयको उपस्थिति रहेको थियो ।

औषधालयमा ओपीडी सेवा, ज्येष्ठ नागरिक तथा स्तनपायी महिलाका लागि विशेष स्वास्थ्य परामर्श, योग तथा पञ्चकर्म सेवा सञ्चालन हुने जानकारी औषधालय प्रमुख कविराज निरीक्षक रामबचन साहले जानकारी दिए ।

गाउँपालिकाको ३० लाख रुपैयाँको बजेटबाट निर्माण गरिएको आयुर्वेद औषधालय २ कठ्ठा १० धुर क्षेत्रफलमा फैलिएको र औषधालय निर्माणका लागि आवश्यक जग्गा स्थानीय स्व. रामबहादुर प्रजाले निःशुल्क दान गरेका हुन्।