काठमाडौं – अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । रिजल मेमोरियल स्टेडियममा बिहीबार भएको खेलमा नेपाल फिलिपिन्ससँग १–० गोल अन्तरले पराजित भएको हो ।
साफ च्याम्पियनसिपको तयारी स्वरुप खेलिएको मैत्रीपूर्ण खेलको पहिलो हाफ बराबरी भएको थियो । दोस्रो हाफमा नेपालले गोल खाएको थियो । फिलिपिन्सका लागि ४९ औं मिनेटमा जार्भी गायसोले निर्णायक गोल गरे ।
१४ औं संस्करणको साफ च्याम्पियनसिपको तयारी अन्तर्गत नेपालले फिलिपिन्ससँग मैत्रीपूर्ण खेल खेलेको हो । साफ च्याम्पियनसिप असार ६ देखि १८ गतेसम्म भारतको बेंगलुरुमा हुनेछ ।
साफमा नेपाल समूह 'ए' मा रहेको छ । नेपालको समूहमा साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेको छ । असार ६ गते साफको उद्घाटन खेलमा नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार पौने ४ बजे सुरु हुनेछ ।
च्याम्पियनसिपमा नेपालसहित आयोजक भारत, बंगलादेश, कुवेत, लेबनान, भुटान, पाकिस्तान, माल्दिभ्सले सहभागिता जनाउने छन् । यस पटक कुवेत र लेबनानले आमन्त्रित टोलीको रुपमा साफ खेल्ने छन् ।