काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार र सत्तारूढ गठबन्धन देशका लागि मृत भइसकेकाले यसलाई कायम राखेर गए देशमा हैजा फैलाउने बताए । वर्तमान सरकार देशका लागि निष्प्राण र हानिकारक दुवै भएकाले यसलाई बोकेर हिँड्न नसकिने अध्यक्ष ओलीको तर्क थियो ।
आज सोमवार ललितपुरमा आयोजित विभिन्न सञ्चारमाध्यामका सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै उनले सरकार चलेन, काम लागेन भन्ने स्पष्ट भइसकेको भन्दै यसलाई बोकिरहन उपयुक्त नहुने बताए । अध्यक्ष ओलीले भने,‘अब यो गठबन्धनको सरकार चलेन, काम लागेन भन्ने स्पष्ट भयो, यसैलाई बोकिरहन अब उपयुक्त हुँदैन । यो सरकार निष्प्राण भयो र हानिकारक छ । यसले हैजा फैलाउँछ । यसले समाजलाई दूषित गर्छ । मृत भइसकेपछि सतिदेवीलाई शिवले काँधमा बोकेर हिँड्दा त उनी काम लागिनन् भने यस्तो गठबन्धन बोकेर, हिँडेर कुनै अर्थ छ ? यो कुनै काम आउन सक्छ ? त्यस कारण यस परमादेशी सरकारको कुनै अर्थ छैन । अहिले यत्ति भनौँ । हामी सकेसम्म सहमतिको राम्रो बाटोमा जान चाहन्छौँ । भएन भने पनि देशलाई कुबाटोमा जानबाट रोक्ने कोसिस गर्छौँ ।’