प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

गोली लागेर मृत्यु भएका युवकको शव अझै घटनास्थलमै

२०८० पौष २१, शनिबार ०९:३६ बजे

सर्लाही – सर्लाहीको बरहथवामा शुक्रवार दिउँसो प्रहरीले चलाएको गोली लागेर मृत्यु भएका युवकको शव अझै घटनास्थलमै रहेको छ ।

प्रशासनले घटनाबारे आफूहरूसँग वार्ता गर्नुपर्ने, दोषीलाई कानुनी दायरामा ल्याउनु पर्ने लगायतका माग राखेर आन्दोलित पक्षले शनिवार बिहानसम्म पनि युवकको शव घटनास्थलबाट उठाउन दिएका छैनन् ।

अस्पताल स्तरोन्नतिको माग राखी भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा शुक्रवार दिउँसो ३ बजेतिर बरहथवा नगरपालिका–६, का अन्दाजी ३० वर्षीय जय शङ्कर साहको मृत्यु भएको थियो ।

साहले बरहथवा बजारमा होटेल सञ्चालन गर्थे । उनलाई बरहथवा बजारस्थित विद्युत् कार्यालय नजिकको पुलमा गोली लागेर घटनास्थलमै मृत्यु भएको हो ।

साहको शव शुक्रवार रातभर घटनास्थलमा रह्यो । सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पन्जियार थारुले मृतक युवकको शव पोस्टमार्टमका लागि शुक्रवार बेलुकादेखि प्रादेशिक अस्पताल मलङ्गवा लैजाने प्रयास गरे पनि स्थानीयले शव उठाउन नदिएका बताए ।