प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

प्रतिनिधिसभा सदस्यदेखि वडाध्यक्षसम्म २५ पद रिक्त, उपनिर्वाचन कहिले ?

२०८० माघ १८, बिहीबार ०७:५९ बजे

काठमाडौँ – प्रतिनिधि सभा, प्रदेश सभा, जिल्ला समन्वय समिति र स्थानीय तह गरी कुल २५ पद रिक्त छन् । निर्वाचन आयोगका अनुसार १७ वडाध्यक्ष पद रिक्त छन् । नगर उपप्रमुख एक, गाउँपालिकाका अध्यक्ष एक र उपाध्यक्षको दुई पद रिक्त छन् ।

त्यस्तै प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको एकरएक पद रिक्त छन् । कोशी प्रदेशको इलाम–२ प्रतिनिधि सभा निर्वाचन र सुदूरपश्चिमको बझाङ १ (१) मा प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र रिक्त छन् । २३ प्रतिनिधिको निधन भई पद रिक्त भएका छन् । दुई जना वडाध्यक्ष जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएपछि रिक्त भएका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ मा प्रत्यक्षतर्फ निर्वाचित कुनै सदस्यको पद प्रतिनिधि सभाको अवधि छ महिनाभन्दा बढी कायम रहँदै र स्थानीय तह निर्वाचन ऐन, २०७३ मा जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख, गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्ष एवं नगरपालिकाको प्रमुख, उपप्रमुख तथा वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा बाँकी पदावधिका लागि निर्वाचन आयोगको परामर्श लिई नेपाल सरकारले तोकेको मितिमा त्यस्तो रिक्त पद उपनिर्वाचनद्वारा पूर्ति गरिने व्यवस्था छ ।

आयोगले आगामी वैशाखमा उपनिर्वाचन गर्ने गरी सरकारसँग निर्वाचनको मिति घोषणाबारे परामर्श गर्न लागेको छ ।  निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आगामी साता उपनिर्वाचनको मितिबारे नेपाल सरकारसँग परामर्श गरिने जानकारी दिए । उनले आयोग पदाधिकारीले प्रधानमन्त्रीसँग सो सम्बन्धमा छलफल गर्ने बताए ।  गारखापत्र दैनिकबाट