प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

'ए' डिभिजन लिग: खेल तालिका माघ २ गते सार्वजनिक हुने

२०७९ पौष १८, सोमबार १४:५७ बजे

काठमाडौं – फागुन १९ गतेबाट सुरु हुने सहिद स्मारक 'ए' डिभिजन लिगको खेल तालिका माघ २ गते(जनवरी १६) सार्वजनिक हुने भएको छ ।

सोमबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा एन्फा र 'ए' डिभिजन क्लबबीच भएको छ्लफलले लिगको तालिका माघ २ गते सार्वजनिक गर्ने निर्णय गरेको हो ।

लिगका लागि एन्फाले पुस २२ गतेसम्म क्लब दर्ता गर्नुपर्ने र माघ १५ गतेसम्म क्लबले क्लब लाइसेन्सको मापदण्ड पूरा गर्नुपर्ने जनाएको छ ।

यस्तै, एन्फाले पुस २४ गतेबाट खेलाडी दर्ता खुला हुने र क्लबले माघ २९ गतेसम्म कम्तीमा २० खेलाडी दर्ता गर्नुपर्ने जनाएको छ । डबल राउन्ड रोबिन पद्धतिम हुने लिग विजेताले ७५ लाख , दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।

सर्वोत्कृष्ट खेलाडीले तीन लाख, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट गोलकिपरले दुई लाख र उदयिमान खेलाडीले एक लाख ५० हजार रुपैयाँ पाउने छन् । यस्तै, 'म्यान अफ द म्याच'ले १० हजार रुपैयाँ पाउनेछन् ।

प्रत्येक खेलको विजेता क्लबले 'म्याच मनी'बापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै, 'फेयर प्ले' पुरस्कार जित्ने टिमले तीन लाख रूपैयाँ पाउनेछ ।