हेटौंडा – सुनसरी बराहक्षेत्र नगरपालिका–९ चिहान डाँडास्थित कोशी किनारमा महिलाहरुमाथि कुटपिट गरी सामाजिक सञ्जालमा भीडियो पोष्ट गर्ने पाँच जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुर बस्ने बर्ष १९ की प्रिति लिम्बु, बराहक्षेत्र–८ बस्ने बर्ष १८ की दुर्गा राई, सोही स्थान बस्ने बर्ष २२ की बिनिता उराँउ, बराहक्षेत्र–९ बस्ने बर्ष १९ की सन्जिता राई र सोही स्थान बस्ने बर्ष १९ की निहाङ राई रहेका छन् ।
प्रहरीका अनुसार बेईज्जती गरेको आरोप लगाउँदै बराहक्षेत्र–९ बस्ने बर्ष १९ की मनिषा राईसहित तीनजनालाई झुक्याएर वारदात स्थान उनीहरुले असार २९ गते कोशी किनारमा बोलाएर पाँचजना युवतीले पालैपालो कुटपिट गरी भिडियोसमेत बनाएर सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।
पीडित युवतीहरुले प्रहरीमा जाहेरी दिएपछि उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरी अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।